सेनाले डोरीले बाँधेर यातना दिएकालाई सम्मान गरियो



चितवन । जनआन्दोलन सफल बनाउन छलफल गरिरहेका बेला एउटै डोरीमा ३४ जनालाई बाँधेर नेपाली सेनाले यातना दिएकाहरुलाई सम्मान गरिएको छ । नेपाली कांग्रेस माडी नगरपालिकाले घटना भएकै दिन पारेर मङ्गलबार उनीहरुलाई सम्मान गरेको हो ।

विसं २०४६ को जनआन्दोलन कसरी सफल बनाउने भन्ने विषयमा माडीको अयोध्यापुरीस्थित गोविन्द बस्तीका चित्रबहादुर दुराको घरमा पुस ७ गते साँझ छलफल भइरहेका बेला सेनाले पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई एउटै डोरीले बाँधेर रातभर हिँडाएर बिहान कीर्तनपुरमा ल्याएर राखिएको थियो ।

पक्राउ परेमध्येका नेपाली कांग्रेसका नेता प्राडा सूर्यकान्त घिमिरेका अनुसार उनीहरुलाई कुटपिट र धम्कीपछि भोलिपल्ट साँझ पालैपालो छाडिएको थियो । सो क्रममा नेपाली कांग्रेस चितवनका पूर्वसभापति रामकृष्ण घिमिरे, पृथ्वीमान गुरुङलगायतका नेता पनि सेनाको यातनामा परेका थिए ।

सोही सम्झनामा पक्राउ परेकाहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वसभापति कृष्णलाल सापकोटा, रामकृष्ण घिमिरे र टेकप्रसाद गुरुङले अहिलेसम्मका सबै उपलब्धिहरुमा कांग्रेसको त्याग रहेको बताए ।

कांग्रेसबिनाको आन्दोलन सफल हुन नसक्ने दृष्टान्त दिँदै उनीहरुले संविधानको रक्षाका लागि फेरि पनि सङ्घर्षमा लाग्नुपर्ने अवस्था आउन सक्ने बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्