काठमाडाैं, १० पुष । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले माइतीघरबाट आन्दोलन सुरु गरेको छ । बिहीबार बबरमहलमा केन्द्रीय कमिटी बैठकले संसद् विघटनको विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने प्रस्ताव पारित गरेको हो ।
‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल, नेता झलनाथ खनालल, नारायणकाजी श्रेष्ठलगायतका सबै केन्द्रीय कमिटी सदस्य र सांसदहरु माइतीघरमण्डलामा उपस्थित भएका छन् । उनीहरुले असंवैधानिक संसद विघटन खारेज गर, संसद अधिवेशन सुरु गर, प्रतिगामी हर्कत बन्द गरलगायतका नारा लगाइरहेका छन् ।
बिहीबार सकिएको केन्द्रीय कमिटीको निर्णयअनुसार सबै केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभाका सदस्यलगायत माइतीघर मण्डलामा भेला भएका हुन् ।
बिहीबार सकिएको केन्द्रीय कमिटीको निर्णयअनुसार सबै केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभाका सदस्यलगायत माइतीघर मण्डलामा भेला भएका हुन् । यसपछि मध्यान्ह १२ बजे निर्वाचन आयोग जाने कार्यक्रम तय गरिएको छ । आफूहरु आधिकारिक भएको दाबीसहित प्रचण्ड-माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर यसअघि नै निर्वाचन आयोगमा बुझाइसकेको छ ।
पार्टीको घोषित कार्यक्रमअनुसार आजै २ बजे अध्यक्षहरुका तर्फबाट पत्रकार सम्मेलन गरिनेछ । प्रचण्ड–नेपाल पक्षले नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५०१ सदस्यीय प्रतिगमनविरुद्ध संघर्ष समिति गठन गरेको छ ।
बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आजबाट दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । विरोध प्रदर्शनका लागि नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।