दाङमा जारी महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा एपीएफको विजयी सुरुवात



दाङ। दाङको लमहीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा साविकको विजेता विभागीय टोली एपीएफले विजयी सुरुवात गरेको छ। समूह ए मा रहेको एपीएफले प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा शनिबार कर्णालीलाई २ सय ४ रनले पराजित गरेको हो।

खेलमा एपीएफले प्रस्तुत गरेको २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली १४.१ ओभरमा सबै विकेट गुमाएर ३१ रनमा सीमित भएको थियो। उसका लागि कुनै खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। त्यस क्रममा कप्तान लक्ष्मी रिमालले ६ रन र दीक्षा पुरीले अविजित रहँदै ५ रन बनाइन्। बलिङमा एपीएफकी करुणा भण्डारीले सर्वाधिक ५ विकेट हात पार्दा राजमती एरीले २ तथा सोनु खड्का र रेखा रावलले समान १/१ विकेट लिए।

त्यसअघि देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभर ४ विकेटको क्षतिमा २ सय ३५ रन बनाएको थियो। टिमले विशाल योगफल खडा गर्ने क्रममा कप्तान सीता राना मगरले कप्तानी पारी खेलिन। टिमका लागि सर्वाधिक धेरै रन बनाएकी उनले ५९ बलको सामना गर्दै ८ चौकासहित ६८ रन बनाइन्।

यस्तै सीतालाई राम्रो साथ दिएकी सरिता मगरले पनि ४४ रन बनाउँदा ओपनर ब्याटर ज्योति पाण्डेले ३२ र इन्दु वर्माले २२ रन जोडेकी थिइन्। बलिङमा कर्णालीको तर्फबाट दीक्षा पुरीले २ तथा निशा पराजुली र अन्जु गुरुङ समान १/१ विकेट लिन सफल भएका थिए। अब प्रतियोगितामा आइतबार पहिलो खेलमा कर्णालीले लुम्बिनी प्रदेशको सामना गर्नेछ भने दोस्रो खेलमा एपीएफले प्रदेश २ को सामना गर्नेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्