सैघाली खबर
काठमाडौं,२३ पुस
काठमाडौंको आइतबार बिहानको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्ष कै कम भएको मौसमविद्ले बताएका छन् ।
यसअघि शुक्रबार एक दशमलव ५ डिग्री मापन गरिएको काठमाडौंको शनिबारको न्यूनतम तापक्रम एक दशमलव ६ डिग्री सेल्सियस पुगेको थियो । पश्चिमी वायुको प्रभावसँगै भारतको जम्मु काश्मिर हुँदै हिमाल माथिबाट हावा आएकाले चिसो बढेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
गएको वर्ष माघ १ गते न्यूनतम तापक्रम शून्य दशमलव ४ डिग्री सेल्सियसमा झरेको काठमाडौंको न्यूनतम तापक्रम २०३४ साल पुस २७ गते अहिलेसम्म कै कम माइनस ३ दशमलव ५ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् पौडेलका अनुसार अबको एक हप्ता पानी पर्ने वा हिमपात हुने संभावना छैन । पानी नपर्दा उपत्यकासहित औद्योगिक क्षेत्रमा प्रदुषण बढ्ने उहाँले बताउनुभयो ।
गर्मी महिनामा दिउँसो चल्ने हावा हुन्डरीले धुँवा र धुलो उडाएर लाने भएपनि अहिले हावा नचल्दा प्रदुषण बढेको उहाँको भनाई छ । अहिले तराइसहित देशका धेरै ठाउँमा बाक्लो हुस्सु लागेको छ । यो दिउँसोपछि विस्तारै हट्ने मौसमविद्को अनुमान छ । गएको २४ घण्टामा जुम्लामा सबैभन्दा चिसो छ ।
जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव २, जोमसोमको माइनस ४ दशमलव ७ र जीरीको माइनस् ३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।