‘ढुलमुले पाराले ओलीबाट सत्ता झर्ला र खाउँला भन्ने कांग्रेसले नसोचे पनि हुन्छ ’ : भट्टराई



काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम सडकको बलले मात्रै सच्याउन सकिने तर्क गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसलाई विरोधमा उत्रन आह्वान गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा जसपाले सुरु गरेको पहिलो चरणको कार्यक्रमको अन्तिम दिन आइतबार राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेताहरूले कांग्रेसका लागि पनि सडक नै विकल्प रहेको बताए ।

प्रतिनिधिसभा पुनःस्थापना हुन नदिने र निर्वाचनसमेत नगराउने बाटामा प्रधानमन्त्री ओली अघि बढिरहेको जनाउँदै उनीहरूले कांग्रेस नेतृत्वलाई ढुलमुले नीति नलिन आग्रह गरेका छन् ।

जसपाले आइतबार संघीय राजधानीलगायत देशका मुख्य सहरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गर्दै विरोध प्रदर्शन र सभा गरेको थियो । काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा भएको संयुक्त विरोधसभामा नेताले प्रतिनिधिसभा विघटन गरिएको पुस ५ गतेलाई कालो दिनका रूपमा मनाउनुपर्ने बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेताद्वय अशोक राई र राजेन्द्र महतोले पूर्वराजा ज्ञानेन्द्र शाहकै दोस्र्रो संस्करणका रूपमा प्रधानमन्त्री ओलीले संविधानमाथि ‘कु’ गर्दै प्रतिगमन भित्र्याएको टिप्पणी गरे । प्रतिगामी कदम सडकको बलबाट मात्रै सच्याउन सकिने उनीहरूको साझा मत थियो ।

प्रधानमन्त्री ओलीले यसअघिदेखि नै राज्य संयन्त्र र संस्थाहरू कब्जा गर्दै आएको उल्लेख गर्दै भट्टराईले अदालतबाट असंवैधानिक कदम सच्चिनेमा आफूलाई झिनो आशा मात्रै रहेको बताए । ‘न्यायाधीशप्रति सम्मान छ तर ओलीले सबै संस्थामा आफ्नो खल्तीबाट मान्छे लगेर राखेकाले धेरै आशा गर्ने ठाउँ छैन,’ उनले भने, ‘त्यसैले पनि सडक आन्दोलनको विकल्प छैन ।’ कांग्रेस नेतृत्वले सडकमा जाने कि नजाने भन्नेमा ढुलमुले नीति लिइरहेका बेला नेता भट्टराईले ओलीले घोषणा गरेको चुनाव हुने र ठूलो दल बन्ने विश्वासमा नपर्न सुझाए । ओलीले निर्वाचनका लागि प्रतिनिधिसभा विघटन नगराएको दाबी उनको थियो ।

‘चुनाव गर्ने नाममा ओलीले विषको भाँडामाथि अमृत देखाएका छन् । अमृतलाई हेरेर कांग्रेस नलोभियोस् । राजा ज्ञानेन्द्रले पनि चुनाव घोषणा गरेका थिए तर हामी गएनौं,’ उनले भने, ‘ढुलमुले पाराले ओलीबाट सत्ता झर्ला र खाउँला भन्ने कांग्रेसले नसोचे पनि हुन्छ ।’ भट्टराईले असंवैधानिक कदमलाई सच्याउने एकमात्रै विकल्प प्रतिनिधिसभा पुनःस्थापना भएको उल्लेख गरे । ‘संविधान र व्यवस्थामाथि नै ओलीले खड्ग प्रहार गरेका छन् । सडकमा गणतन्त्रको नारा लाग्दा उनी बयलगाडामा अमेरिका पुगिँदैन भन्थे,’ उनले भने, ‘अहिले पनि कोही नझुक्किए हुन्छ । अहिले नभए भोलि सबै सडकमा आउनैपर्छ ।’

वरिष्ठ नेता अशोक राईले राजा महेन्द्र शाहलाई समेत ओलीले उछिनेको बताए । ‘२०१७ सालमा राजा महेन्द्रले संसद् भंग गर्दा बरु संविधानमा व्यवस्था थियो,’ उनले भने, ‘तर अहिले ओलीले संविधानमै नभएको व्यवस्था प्रयोग गरे ।’ उनले संसद् बोलाउँदा भ्रष्टाचार, कुशासन र सरकारका कर्तुत सार्वजनिक हुने र आफ्नो विश्वास गुम्ने भयले प्रतिनिधिसभा नै भंग गर्ने बाटो ओलीले समातेको बताए ।

अर्का वरिष्ठ नेता राजेन्द्र महतोले तत्कालीन राजा ज्ञानेन्द्रपछि ओलीले मुलुकमा प्रतिगमन ल्याएको बताए । ‘राजा ज्ञानेन्द्रले पनि निर्वाचनको घोषणा गरेका थिए तर निर्वाचन हुन सकेन । प्रतिगमनतर्फ मुलुकलाई लगे । अहिले ओलीले त्यस्तै प्रतिगमन ल्याएका छन् । यो मुलुकले कति प्रतिगमन भोग्ने रु’ उनले भने, ‘ओलीको यो कदम सत्ता र पदका निम्ति मात्रै हो ।’ संविधान निर्माणका बेलासमेत ओलीबाट प्रतिगमन नै भएको धारणा उनले राखे । ‘कि त संविधानमा जे मन लाग्यो, त्यही गर्न पाइन्छ भनेर लेख्नुपर्‍यो । नत्र, संविधानले गर्न नपाइने भनेको काम गर्न पाइन्छ रु’ महतोले भने, ‘कुर्सी जोगाउन प्रतिगमन गर्ने र?’

विरोधसभा सुरु हुनुअघि चर्का नाराबाजीसहितको जुलुस शान्तिबाटिकाबाट निस्केको थियो । बागबजार, पुतलीसडक, पद्मोदय मोड, सहिदगेट, वीर अस्पताल हुँदै शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो । जसपाले पहिलो चरणअन्तर्गतको पाँचदिने सडक संघर्ष सकिएसँगै दोस्रो चरणको कार्यक्रम ल्याउने तयारी गरेको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य गंगा श्रेष्ठले दुई दिनका कार्यक्रमको समीक्षा गर्दै अझै सशक्त कार्यक्रम ल्याउने तयारी भइरहेको बताए । ‘हामी सकभर विघटनको विरोधमा रहेका सबै राजनीतिक दल मिलेर संयुक्त आन्दोलनमै जाने पहल गर्नेछौं । त्यो पहल परिणाममा पुगेन भने एकल कार्यक्रम लिएर सडकमा जान्छौं । सडकबाट प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म आन्दोलन रोकिन्न,’ उनले भने ।यो खबर आजको कान्तिपूरमा छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्