नेपालमा भएका पछिल्ला घटनाक्रम बारे जानकार छौंः चीन



काठमाडौं । भनिन्छ, चिनियाँहरु ढिलो बोल्छन् तर पाको व्यवहार गर्छन्, कम बोल्छन् तर काम धेरै गर्छन् । यदि यो सत्य हो भने उनीहरुले व्यवहारमा पनि सोही अनुसार नै देखाउनु पर्छ । विश्व राजनीति बहुध्रुवीय भएको यो समयमा एउटा ध्रुबको नेतृत्व चीनले नै गरिरहेको छ । नेपालमा प्रधानमन्त्री खड्कप्रसाद ओलीले संसद भंग गरि अध्यादेशबाट शासन गरेको कुराले चिनियाँहरुलाई अचम्मै बनाएको छ ।

ओलीको पार्टीमा विवाद भइरहँदा सो विवाद मिलाउन पनि चीनले धेरै नै प्रयास गरेको हो । तर केही सीप लागेन आखिर सरकारी नेकपा विभाजन भइछाड्यो । नेपालको राजनीतिमा भारत र अमेरीका हावी भएका कारण यो पार्टी विभाजन भएको हो भन्ने कुरा अब लाटोलेपनि बुझिसकेको छ भने चिनियाँ नेताहरुले नबुझ्ने त कुरै भएन । पश्चिमाहरु पूर्वको खासगरि चीनमाथी दवाव बढाउनका लागि नेपालमा अनेक खेल खेल्छन् भन्ने कुरा चीनले राम्रोसित बुझेको छ ।

नेपालमा भएको यही घटनाक्रमलाई नजिकबाट बुझ्नका लागि चिनियाँ टोली नेपाल आएको छ । यसैबीच चीनले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति आफू जानकार रहेको बताएको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले पुष ५ गते संसद भंग गरेको कदमप्रति औपचारिक प्रतिक्रिया दिँदै चीनले उक्त प्रतिक्रिया दिएको हो ।

सोमबार चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता झाओ लिजानले भने, ‘मित्र र नजिकको छिमेकीको हिसाबले हामी के विश्वास गछौं भने राजनीतिक दलहरुले राष्ट्रिय स्वार्थ र विग पिक्चरलाई ध्यानमा राख्नेछन्, आपसी भिन्नताहरु राम्रोसँग व्यवस्थापन गर्नेछन् र राजनीतिक स्थिरता र राष्ट्रिय विकासप्रति प्रतिवद्ध हुनेछन् ।’

प्रधानमन्त्री ओलीले संसद भंग गरेसँगै सत्तारुढ (नेकपा)मा समेत विभाजन आइसकेको छ । नेकपाका दुई समूह औपचारिक रुपमा आ-आफ्नो पक्षलाई वैधानिक दिने प्रक्रियामा गइरहेका बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपपमन्त्रीको नेतृत्वको टोली अहिले नेपाल भ्रमणमा रहेको छ ।

उक्त टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपाका शीर्ष नेता लगायतसँग भेटवार्ता गरिसकेको छ । त्यसअघि देखि नै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि राष्ट्रपति, प्रधानमन्त्री र अन्य नेताहरुसँग भेटवार्ता गरेकी थिइन् । उनीहरुको नेपाल भ्रमणलाई लिएर धेरैले धेरै अड्कलबाजी गरिहेका बेला यसको महत्व केकति रहनेछ त्यसको परिणाम भने पर्खनै पर्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्