सुदुरपश्चिम र प्रदेश १ को विजयी सुरुवात (प्रम कप)



 

सुदुरपश्चिम र प्रदेश १ को विजयी सुरुवात (प्रम कप) टेकबहादुर पुन दाङ ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता अन्तरगत समूह बी को खेलमा सुदुरपश्चिम प्रदेश र प्रदेश १ विजयी भएका छन् । सुदुर पश्चिम प्रदेशले लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको हो । समूह बी मा रहेको सुदुर पश्चिमले प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा मंगलबारको पहिलो खेलमा गण्डकी प्रदेशलाई ५९ रनले पराजित गर्यो । यस्तै प्रदेश १ ले पनि बागमती प्रदेशलाई हराउंदै आफ्नो जीतको सुरुवात गरेको हो । खेलमा सुदुर पश्चिमले दिएको १ सय ८ रनको विजयी चुनौतीलाई पछ्याएको गण्डकी निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर ४८ रनमा सिमित हुन् पुग्दा नतिजा सुदुर पश्चिमले आफ्नो पक्षमा पार्न सफल भयो । ब्याटिङतर्फ गण्डकी प्रदेशका लागि कुनै ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । उसका लागि सृष्टि पौडेलले ८ रन र ज्योत्सनिका मरासिनीले अविजित रहदै ६ रन जोडीन ।

बलिङमा सुदुर पश्चिमकी सुनिता लोहारले २ विकेट हात पार्दा कविता कुवँर, रितु कनौजिया र लक्ष्मी साउदले १–१ विकेट लिइन । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुर पश्चिमले १९.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । टिमले उक्त योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याटर रेवती धामीले सर्वाधिक ठूलो पारी खेलिन । ३६ बलको सामना गरेकी उनले २ चौकासहित २७ रन बनाइन ।

यस्तै रेवती बाहेक टोलीका लागि कप्तान विन्दु रावलले १३ रन, ओपनर ब्याटर मन्जु बोगटीले १० रन र रुवि पोदारले ५ रन बनाइन । बलिङतर्फ गण्डकी प्रदेशका लागि सृष्टि पौडेल र अलिशा लामिछानेले ३–३ विकेट हात पारिन । अञ्जली विश्वकर्माले पनि १ विकेट लिन सफल भइन ।
बाग्मतीमाथी प्रदेश १ को सहज जित!!
प्रदेश १ ले दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । समूह बी मा रहेको प्रदेश १ ले प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा मंगलबार दिनको दोस्रो खेलमा बागमतीलाई ४६ रनले पराजित गर्यो । खेलमा प्रदेश १ ले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्यलाई पछ्याएको बागमती १६.४ ओभरमा अलआउट हुँदै ६० रनमा सिमित हुन् पुग्यो । बागमतीका लागि कन्चन श्रेष्ठले सर्वाधिक १३ रन बनाउँदा सुमन खतिवडाले १२ रन बनाइन ।

यी दुई ब्याटर बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् । बलिङतर्फ प्रदेश १ का लागि निग्मा तामाङले ३ तथा अप्सरी बेगमले २ विकेट हात पारे । त्यस्तै सबनम राई, अलिशा खाडिया र निशा शाहले पनि १–१ विकेट लिइन । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो ।
प्रदेश १ ले बलियो योगफल बनाउने क्रममा उसका लागि कप्तान रुविना क्षेत्रीले कप्तानी पारी खेलिन । ५५ बलको सामना गरेकी कप्तान क्षेत्रीले अर्धशतकीय पारी खेल्ने क्रममा ६ चौकाको सहयोगमा ५५ रनको योगदान दिइन । यस्तै टोलीका लागि अप्सरी बेगमले १६ रन बनाउदा निग्मा तामाङले ५ रन थपिन । बलिङतर्फ बागमतीका लागि स्पिनर आरती बिडारीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए, भने कप्तान अस्मिना कर्माचार्य, निग्मा तामाङ र कृष्मा गुरुङले १–१ विकेट लिइन ।

अब प्रतियोगिता अन्तर्गत बुधबार पहिलो खेलमा सुदुर पश्चिमले प्रदेश १ को सामना गर्नेछ, भने दोस्रो खेलमा बागमतीले गण्डकीको सामना गर्नेछ । यता प्रतियोगितामा समूह ए बाट एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल पुगिसकेका छन् । एपीएफ समूह विजेता हुँदै सेमिफाइनल पुग्दा लुम्बिनी उप–विजेता बन्दै सेमिफाइनल पुगेको हो । प्रतियोगिता अन्तर्गत अब सेमिफाइनलमा एपीएफले समूह बी को उप–विजेतासँग खेल्नेछ । लुम्बिनीले समूह बीको विजेतासँग पुस १८ गते खेल्नेछ । प्रतियोगिताको फाइनल खेल पुस १९ गते हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्