काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेम आलेले भीम रावलले ओली र दाहाल लगायतका नेताहरुलाई मिल्न नदिएको आरोप लगाएका छन् ।
काठमाडौको थापाथलीस्थित कार्की बैंकेटमा बुधबार भएको नेकपा ओली पक्षको सुदुरपश्चिस्तरीय प्रदेश भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्री केपी ओली समेत सहभागी कार्यक्रममा मन्त्री आलेले नेताहरुलाई लडाउने र नेकपामा विवाद सिर्जना गराउने काम रावलले नै गराएको दावी गरे ।
‘डा. भीम रावल अर्को कित्तामा लागेपछि प्रधानमन्त्रीले सुदुरपश्चिमका चारजनालाई मन्त्री बनाउनुभयो’, मन्त्री आलेको भनाई थियो ।
‘सुदुरपश्चिमको विद्धान नेता डा. भीम रावलले नेताहरुलाई लडाउने आपसमा विवाद गराउने अनि रातिराति प्रधानमन्त्रीकोमा गएर मलाई उपप्रधानमन्त्री बनाउनुस् साथ दिन्छु भन्ने गर्नुभएको हो’, आलेले भने, ‘जवाफमा प्रधानमन्त्रीले तपाईंलाईमात्रै कतिपटक मन्त्री बनाउने भनेपछि प्रचण्ड र माधव नेपाललाई उचाल्ने काम भीम रावलले नै गर्नुभएको हो ।’
चारपटक मन्त्री हुँदा पनि रावलले सुदुरपश्चिमका जनतालाई नहेरेको भन्दै मन्त्री आलेले आफूमाथि वन फँडानी गरेको भनेर लगाएको आरोपमा कुनै सत्यता नरहेको दावी गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।