कहिले हुन्छ एसईई परीक्षा ?



पुस १६, काठमाडौँ । यस वर्षको एसईई परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठ महिनामा एसईई सञ्चालन गर्न सक्ने गरी तयारी शुरू गरेको छ ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले हालसम्मको अवस्था हेर्दा जेठसम्म परीक्षा गर्न सकिने सम्भावना देखिएकाले तयारी थालेको जानकारी दिए ।

चैत/वैशाखसम्म विद्यार्थीले पठनपाठनमा समय दिनुपर्ने अवस्था रहेको र असार/साउनमा वर्षा हुने भएकाले जेठ महिना परीक्षाका लागि उपयुक्त हुने देखिएको उनले बताए ।

सरकारले यस पटक शैक्षिक सत्र कहिले शुुरू हुने र कहिले सकिने भन्ने स्पष्ट नीतिगत निर्णय गरेको छैन । विगतमा वैशाखमा शैक्षिक सत्र शुुरू भएर चैतमा सकिने भए पनि यस वर्ष कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विद्यायय खुल्न नसक्दा शैक्षिक सत्र समेत यकिन हुन सकेको छैन ।

वैकल्पिक विधिबाट विद्यालय तहको पठनपाठन सञ्चालनमा ल्याइएको छ । हाल कतिपय विद्यालयमा भौतिक रूपमा समेत कक्षा सञ्चालनमा ल्याइएको छ तर शैक्षिक सत्रको यकिन भने गरिएको छैन । शैक्षिक सत्रको निर्णय गरिदिन आफूहरूले सरकारलाई अनुरोध गरेको जानकारी दिँदै बोर्डका अध्यक्ष पौडेलले त्यसपछि सबै निर्णय गरिने बताए । त्यसअघि परीक्षाको तयारीका लागि रजिस्ट्रेसन फाराम भर्नेलगायतका कार्य शुरू गरिएको छ ।

माघ तेस्रो सातासम्म फाराम भर्न समय दिइएको छ । यसबाट एसईई दिनेको वास्तविक तथ्यांक यकिन भई परीक्षाका बारेमा थप निर्णय गर्न सहज हुने जनाइएको छ । एसईईको उत्तरपुस्तिका प्रदेश सरकारले छाप्ने भएकाले पनि त्यसका लागि समेत बोर्डले वास्तविक विद्यार्थीको तथ्यांक उपलब्ध गराउनुपर्ने अवस्था रहेको जनाइएको छ ।

बोर्डले यस पटकको परीक्षा कुन विधिबाट सञ्चालन गर्ने भन्ने कुराको स्पष्ट निर्णय गर्न सकेको छैन । विद्यार्थीको अन्तिम विवरण आएपछि सरकारले यस विषयमा निर्णय गर्ने जनाइएको छ ।

विद्यार्थीको परीक्षा भौतिक उपस्थिति, अनलाइन या कुन माध्यमबाट सञ्चालन गर्ने भन्ने कुराको नीतिगत निर्णय र आवश्यक तयारी समेत गर्न आवश्यक समय रहेको उनको भनाइ छ । कोरोना भाइरसको संक्रमणका कारण २०७६ सालको एसईई भने विद्यालयको आन्तरिक मूल्याङ्नका आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्