राजाको निरंकुशता त फाल्यौं, ओलीको के कुराः वर्षमान पुन



काठमाडौं । विभाजित भएको नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले मुलुकमा निरंशुकता लाद्ने प्रयास गरिरहेको बताएका छन् । ओलीले राज्य शक्तिको दुरुपयोग गर्न राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागआफू मातहत राखेको चर्चा गरे ।

संविधानमा स्पष्टरुपमा नेपाललाई समाजवाद उन्मुख मुलुक भनिए पनि ओलीको चरित्र र अभ्यास भने दलाल पुँजीपति रहेको उनको भनाइ थियो । पुनले नेपालको सम्पूर्ण अर्थ व्यवस्था सीमित मानिसको मुठ्ठीमा पार्ने गरी ओली अगाडि बढेको आरोप पुनले लगाए । तर, असंवैधानिक प्रतिनिधिसभा विघटनको जगमा निरंकुश सत्ता चलाउने ओलीको प्रयास कुनै हालतमा सफल हुन नदिने चेतावनी उनको थियो ।

‘ओलीले निरंकुश सत्ता चलाउने मनसायले असंवैधानिक बाटो हिंड्नुभएको छ’, नेकपा प्रचण्ड–माधव नेपाल पक्षको लुम्बिनी प्रदेश कमिटी बैठकलाई बुटवलमा सम्बोधन गर्दै पुनले भने, ‘यो नेपालमा हो, राजामहाराजाको निरंशुकता नटिकेको नेपालमा ओली निरंशुकता धेरै दिन टिक्न दिँदैनौं ।’

गत ५ पुसको मन्त्रिपरिषद बैठकमा ओलीले प्रतिनिधिसभा विघटनको प्रस्ताव गर्दा आफूसहित केही मन्त्रीले प्रतिवाद गरेको प्रसंग उल्लेख गर्दै उनले मन्त्रिपरिषदको भावनाविपरीत जबर्जस्ती प्रतिनिधिसभा विघटन गराएको उल्लेख गरे । नेता पुनले ओलीको असंवैधानिक कदममा राष्ट्रपतिले सहयोगी भूमिका खेलेर संविधानको संरक्षक र राष्ट्राध्यक्षको भूमिकाबाट च्यूत भएको टिप्पणी गरे ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्