काठमाडौं । सरकारी नेकपा विभाजन भएपछि कुनै समूहको समर्थनमा नलागेका वामदेव गौतम आजभोली भैंसेपाटीमा बसेर छुट्टै अभियानमा लागेका छन् । ओली समूह र दाहाल नेपाल समूह अलग पार्टीको अभ्यास गरिहेका बेला गौतमले पनि अर्को साता आफ्नो योजना सार्वजनिक गर्ने भएको जनाइएको छ ।
त्यसका लागि उनले देशभरिबाट १,५०१ जनाको नामावली तयार पारेको बताइएको छ । उनले तटस्थ नेता कार्यकर्ताको समूह बनाएर पार्टी एकताको अभियान चलाउने भएका छन् । आफ्नो समूहमा उनले तटस्थ नेता कार्याकर्ताको खोजी गर्न थालेका छन् । देशभरि त्यस्ता ब्यक्तिको खोजेर नामको सूची तयार पार्ने काममा उनी लागेको बताइएको छ ।
गौतम निकट स्रोतका अनुसार अहिले १,५०१ जनाको एकता अभियान गठनको लागि यतिबेला वामदेव व्यस्त छन् । यद्धपी उनलाई आफ्नो समूहमा ल्याउन दुवै पक्षले प्रयास जारी राखेका छन् । भैंसेपाटीमै पुगेर दुवै पक्षका नेताहरुले उनीसित परामर्श गर्दै आएका छन् ।
उनले दुवै पक्षलाई आफू कुनै समूहमा नलाग्ने बताउँदै आएका छन् । गौतमको निर्देशन अनुसार देशभर तटस्थहरुको पहिचान गरी नाम संकलन गर्दै एकता अभियानमा नाम राख्न शुरु भएको छ ।
गौतमले अर्को हप्ता १,५०१ को एकता अभियानको घोषणा गर्दैछन् । उनी निकटस्थका अनुसार अभियानमा तटस्थ रहेकाहरुको उल्लेख्य संख्या हुनेछ । यतिबेला गौतमलाई प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री सहित आकर्षक मन्त्रालय र सहअध्यक्षको प्रस्ताव गरेका भए पनि उनले त्यो प्रस्ताव अस्विकार गरेका छन् । पुष्पकमल दाहालले पनि आफ्नो समूहमा महत्वपूर्ण स्थान दिने प्रस्ताव गरेका थिए तर, गौतमले स्वीकार गरेनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।