चित्लाङमा चार पाङ्ग्रे मोटरसाइकल ‘क्‍वार्ड’ चढ्नेको धुइरो



मकवानपुर- अङ्ग्रेजी नयाँ वर्ष २०२१ शुरु हुनै लाग्दा मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङमा पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ । पर्यटक आगमनसँगै नेपालमै पहिलो पटक व्यावसायिकरूपमा शुरु गरिएको चार पाङ्ग्रे मोटरसाइकल ‘क्‍वार्ड’ चढ्नेको धुइरो लाग्न थालेको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को महामारी नियन्त्रण गर्न लकडाउन घोषणा भएपछि ‘क्‍वार्ड’ को मजा लिन आउने पर्यटकको सङ्ख्या कमी भए पनि दशैँ–तिहारयता क्‍वार्डको आकर्षण बढेको सञ्चालक रामशरण नेपालले बताउनुभयो ।

एक वर्षअघि गेयर नेपाल प्रालि र चित्लाङको चित्लाङ रिसोर्ट प्रालिले संयुक्तरूपमा क्‍वार्ड मोटरसाइकलको व्यावसायिक सञ्चालन शुरु गरेका थिए । चित्लाङमा अहिले पाँच वटा क्‍वार्ड सञ्चालनमा रहेका छन् ।

चित्लाङ रिसोर्टबाट थाहा नगपालिका–९ चित्लाङ माझगाउँसम्मको कच्ची सडकको करिब सात किलोमिटर खण्डलाई क्‍वार्ड सञ्चालनको मार्ग तय गरिएको छ ।

चीनबाट प्रतिथान करिब रु ११ लाख तिरेर भित्र्याइएको क्वाड सञ्चालन गर्न स्थानीय वडा कार्यालयले अस्थायी अनुमति दिएको छ । नेपालमा क्‍वार्ड सञ्चालन तथा नियमन गर्ने विषयमा कानूनी व्यवस्था नभएको र कार्यविधिसमेत नभएकाले हाल अस्थायी अनुमति लिएर कच्ची बाटोमा सञ्चालन गरिएको सञ्चालक नेपालले जानकारी दिनुभयो ।

क्‍वार्ड मोटरसाइकल विदेशमा खासगरी मरुभूमि, हिलो र सतह नमिलेको बाटोमा साहसिक यात्राका लागि प्रयोग गर्ने गरेको पाइन्छ । चित्लाङमा पनि क्‍वार्ड चढ्नेले हिलो, चिप्लो र चट्टानी बाटोमा अझ रमाइलो हुने अनुभव सुनाएका छन् ।

सात किलोमिटर क्‍वार्ड यात्राका लागि रिसोर्टले पर्यटकसँग तीन हजार रुपैयाँ लिने गरेको छ । यात्राअघि रिसोर्टले केही समय आवश्यक निर्देशन दिनुका साथै परीक्षणसमेत गराउने गरेको छ ।

पर्यटक क्‍वार्ड यात्राका लागि निस्केपछि रिसोर्टले कर्मचारीमार्फत अनुगमनसमेत गर्ने गरेको छ । यी कामका लागि छुट्टै कर्मचारीको व्यवस्था गरिएको रिसोर्टले जनाएको छ ।

चित्लाङ धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले मकवानपुरकै प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले यात्री कविता रच्नुभएको गुर्जुधारासहित लिच्छविकालीन ढुङ्गेधारा, पाटी, पौवा, धर्मशाला, नेपालकै पहिलो बाख्राको चिज, ऐतिहासिक झरना, चैत्य, चिःवहा आदिले चित्लाङ पर्यटकीय दृष्टिले महत्वपूर्णस्थलको रूपमा रहेको छ । –

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्