काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि सरकारले बसालेको जग अब देखिने गरी थप उचाइमा पुग्ने बताएका छन्। नयाँ वर्ष सन् २०२१ को अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले अर्को नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि बसालेको जग अझ देखिने गरी थप उचाइमा पुग्ने बताएका हुन्।
‘आगामी वर्ष र दिनहरूमा हाम्रो राष्ट्रियता अझ मजबूत हुनेछ । हाम्रो स्वाधीनताको हामी अझ बढी व्यवहारिक र वास्ताविक अर्थमा प्रयोग गर्दै अघि बढ्ने छौं’, प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, ‘भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूको रक्षा एवं राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने छौं।’
आगामी दिनमा राष्ट्रिय आकांक्षा पूरा गर्न संविधानको प्रभावकारी कार्यान्वयन, सामाजिक जागरण र उत्थानका कामहरूलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्ने उनले उल्लेख गरेका छन्। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य रहेको बताउँदै ओलीले मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा अनेक व्यवधानहरूको सामना गर्नु परेको स्मरण पनि गरेका छन्।
‘हामीले कोभिडसँग लड्ने क्षमताको हिसाबले कमजोर र अझ शून्यप्रायः अवस्थामा रहेको स्वास्थ्य संरचनालाई यसैबीचमा निर्माण गरी कोभिड–१९ को क्षति तुलनात्मक रूपमा न्यून गर्न सफल भयौं। यस संक्रामक महामारीबाट नागरिकहरूलाई बचाउन सरकारले अवलम्बन गरेका उपायहरूलाई साथ दिंदै सुरक्षित रहन म सबैमा आह्वान गर्दछु।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।