आजको राष्ट्रिय सभा बैठकमा संसद भंग गरिएको बारेपनि बहस हुने



काठमाडौं । आजदेखि राष्ट्रिय सभाको हिउँदे अधिवेशन बस्दैछ । अपरान्ह ४ बजे राष्ट्रिय सभाको बैठक बस्न लागेको हो । राष्ट्रिय सभामा आज राष्ट्रपति कार्यालयले पठाएको पत्र सुरूमै पढेर सुनाउने र दलका नेताहरूलाई बोल्न समय दिनेजस्ता सम्भावित कार्यसूची छन् ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गरेपछि यो पहिलो बैठक हो । बैठकमा प्रतिनिधि सभा भंग भएका कुरा पनि उठ्ने नेताहरूले बताएका छन् । राष्ट्रिय सभामा ५९ जना सदस्य छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका ५० जना, नेपाली कांग्रेसका ६ जना र जनता समाजवादी पार्टीका ३ जना सदस्य छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेपछि नेकपाभित्र विवाद छ । बेग्लाबेग्लै समूह क्रियाशील रहे पनि पार्टी औपचारिक रूपमा फुटेको भने छैन ।

राष्ट्रिय सभामा नेकपाका ५० सदस्यमध्ये यसअघि भएको हस्ताक्षरमा २४ जना प्रचण्ड–नेपाल समूहमा उभिएका थिए । नेकपा उपाध्यक्षसमेत रहेका वामदेव गौतम पनि राष्ट्रिय सभा सदस्य हुन् तर उनी ओली, प्रचण्ड–नेपाल कतै पनि खुलेका छैनन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ओली समूहका नेता हुन् तर उनी निर्णायकबाहेक अरू बेला बोल्न मिल्दैन ।

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक ठहर गर्नेमा नेपाली कांग्रेस र जसपा पनि छन् । कांग्रेसका ६ र जसपाका ३ तथा नेकपाका प्रचण्ड–नेपाल समूहका २४ जना सरकारको विपक्षमा छन् । ५९ जनामध्ये ३३ जना सरकारको विपक्षमा उभिँदा राष्ट्रिय सभामा सरकार अल्पमतमा पर्ने देखिन्छ ।

आजको बैठकमा प्रतिनिधि सभा विघटनबारे आवाज उठाउने तयारीमा आफूहरू रहेको नेकपाका संसदीय दलका नेता दिनानाथ शर्माले बताए । यसबारे बिहीबार शर्माले जनताबाट निर्वाचित प्रतिनिधि बोल्नका लागि स्वतन्त्र हुने बताएका छन् । नेकपाका प्रचण्ड–नेपाल समूहका एकजना राष्ट्रिय सभा सदस्यले आजको बैठकमा प्रतिनिधि सभा भंगको विषय उठान गर्ने तयारी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्