गुल्मी, पुष १७ । गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाले अपाङ्ग परिचयपत्र वितरण गरेको छ । गाउँपालिका भित्रका ७ वटै वडामा पुगेर अपाङ्ग परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिका भित्र रहेका अपाङ्गता भएका नागरिकहरुको पहिचान गर्ने तथा राज्यबाट प्राप्त सेवा सुविधाबाट बन्चित नपरोस् भन्ने उद्देश्यले नागरिकको सुविधालाई मध्यनजर गर्दै घुम्ती शिविर सञ्चालन गरिएको हो । शिविर पुष १५ गतेदेखि १७ गतेसम्म सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो ।
शिविरबाट ४१ जना नागरिकलाई अपाङ्ग परिचयपत्र वितरण गरिएको हो । जसमा महिला १५ जना र पुरुष २६ जना रहेको गाउँपालिकाले जनाएको छ । जसमा ‘क’ वर्गका ३ जना रहेका छन् । महिला २ जना र पुरुष १ जना छन् । ‘ख’ वर्गका १० जना रहेका छन् । महिला ४ जना र पुरुष ६ जना छन् । ‘ग’ वर्गका २१ जना रहेका छन् । महिला ७ जना र पुरुष १४ जना छन् । ‘घ’ वर्गका ७ जना रहेका छन् । महिला ३ जना र पुरुष ५ जना छन् । योसँगै गाउँपालिकाले अपाङ्ग परिचयपत्र २ सय ८३ जना नागरिकलाई वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो ।
परिचयपत्र वितरणको लागि सञ्चालन गरिएको घुम्ती शिविरमा गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा, उपाध्यक्ष मिना भण्डारी, मेडिकल अधिकृत डा. आषुस रिजाल, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद अर्याल, प्रशासन शाखाका नवराज घिमिरे, भिमसेन थापा, प्रकाश थापा लगायतका गाउँपालिकाका कर्मचारीहरुको उपस्थित रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।