के नरेन्द्र मोदी शुद्र हुन् ?



चन्द्रप्रकाश बानियाँ । जात व्यवस्था वैदिक समाजले विकास गरेको हो । वैदिक संस्कृति हिन्दू धर्ममा परिवर्तन भयो । हिन्दू वर्ण व्यवस्थामा चार जात मात्र छन् । ब्राह्मण, क्षेत्री र वैश्यलाई जनै लगाउने अधिकार दिइएको छ ।

वैदिक हिन्दू समाजमा जनै नलगाउनेहरु सबै शुद्र मानिन्छन । नेपालका खस र नेवारले जात व्यवस्था हिन्दू समाजबाट अनुकरण गरेका हुन् । खसहरुमा पनि चार जात थियो ।
ब्राह्मण, क्षेत्री (ठकुरी), वैश्य (खस) र शुद्र (मतवाली) ।

ठकुरीलाई वैदिक समाजको क्षत्री (राजपूत) समान मानिन्थ्यो । वैदिक वैश्यको समकक्षी मानिने खस क्षेत्रीहरुलाई जङ्गबहादुर कुँवरले क्षेत्रीमा पदोन्नती गरिदिएपछि खस जातिमा तीन जात मात्र बाँकी रह्यो । नेवारहरुमा पनि खस समाजको जस्तै व्यवस्था थियो । मल्ल, अमात्य, प्रधान जस्ता उच्च कूलका क्षेत्री मानिन्थे ।

अर्थात् ती खस समाजका ठकुरी समान मानिन्थे । तिनीहरुलाई छ थरी भनेर चिनिन्थ्यो र जयस्थिती मल्लले जनै दिएका थिए । उनीहरुभन्दा तल्ला खस क्षेत्रीसमानका पाँचथरी भनेर चिनिने श्रेष्ठहरुलाई पनि जनै दिइएको थियो ।

नेवार ठकुरी र वैश्यहरुको जनै लगाउने परम्परा कसरी टुट्यो ? जनै नलगाउँदा शुद्रमा गणना हुने कुराले उनीहरुलाई जनै त्याग्न किन रोकेन ?

वंशावलीमा एउटा रोचक कथा छः

मल्ल दरवारमा शिवदत्त नामका एकजना मैथिली ब्राह्मण पण्डित बोलाइएका थिए । उनले जाँडरक्सी पिउनेले जनै लगाउन हुँदैन भनेर अड्डी लिएपछी राजाले आफ्ना रैतीलाई जाँडरक्सी र जनैमध्ये एउटा रोज्ने अवसर दिए । नेवारहरुले आफ्नी अधिष्ठात्री देवी तलेजुलाई जाँडरक्सी चढाउनुपर्ने भएकोले बरु जनै त्याग्ने जाँडरक्सी नत्याग्ने निर्णय लिएछन् ।

वर्ण व्यवस्थामा चार जात छन् र जनै नलगाउनेहरु शुद्र मानिन्छन् । तर राजा विरेन्द्रको राज्याभिषेकमा पदमसुन्दर लावतीलाई शुद्र र जोगमेहर श्रेष्ठलाई वैश्यको प्रतिनिधि मानेर अभिशेष दिन लगाइएको थियो ।

जोगमेहरलाई कुन आधारमा वैश्य मानियो भन्ने कुराको कुनै आधार देखिँदैन । जयस्थितिले बाँधेको व्यवस्था मान्ने हो भने उनी क्षेत्री थिए । हिन्दू वर्ण व्यवस्था मान्ने हो भने जनै नलगाउनेलाई वैश्य मान्न मिल्ने देखिँदैन । जनै नलगाउने जातमा पर्ने हुनाले भारतका कट्टर हिन्दूवादी नेता तथा वर्तमान प्रधानमन्त्री नरेन्द्रभाई मोदीको जात शुद्र मानिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्