अदालतको निर्देशनात्मक आदेशपछि छुटे सत्तारुढ नेकपाका नेता पुरी



काठमाडौं । नेकपा नेता रेवतराज पुरी तारेखमा छुटेका छन् । विशेष अदालतको निर्देशनात्मक आदेशपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई छोड्न आदेश दिएको हो । ३९ दिन अघिदेखि सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागको हिरासतमा रहेका दमकका नेता पुरी शुक्रबार तारेखमा छुटेका हुन् ।

पुरीलाई नियमित हाजिर हुने गरी रिहा गरिएको विभाग स्रोतले जनाएको छ । सरकारी जग्गा कीर्ते गरी हत्याएको अभियोगमा उनलाई विभागले पक्राउ गरेको थियो । तर विशेष अदालतले उनलाई थुनामा राख्ने अनुमति नदिएपछि विभागले शुक्रबार रिहा गरेको हो । पुरीलाई हिरासतमा राखेर अनुसन्धान गर्ने समय थपका लागि गत आइतबार विशेष अदालत लगिएको थियो ।

अदालतले उनलाई अन्तिमपटक भनी सात दिनको म्याद थपेको थियो । ‘अरू मुद्दामा खुरूखुरू हिरासत राख्न अनुमति दिने अदालतले यो प्रकरणमा आरोपीलाई अन्तिमपटक थुनामा राख्न भन्दै आदेश दियो,’ विभाग स्रोतले भन्यो । विभाग स्रोतका अनुसार सम्पत्ति शुद्धीकरणमा अनुसन्धानको लागि पक्राउ परेर मुद्दा अदालत नपुग्दै छुट्ने छुट्ने पुरी पहिलो व्यक्ति हुन् । यसरी पक्राउ व्यक्तिलाई ९० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्ने अधिकार विभागलाई छ ।

दमक-८ (साबिक १३ र १४)को सरकारी जग्गा कीर्ते गरी आफ्नो नाममा हत्याएको आरोपमा पुरी विरूद्धको मुद्दा झापा जिल्ला अदालतमा अहिले पनि विचाराधीन छ । सरकारी वकिलले मुद्दा अभियोजन गर्दा सम्पत्ति शुद्धीकरण प्रयोजनार्थ अनुसन्धान गर्न भनेपछि विभागले पुरीमाथि अनुसन्धान थालेको थियो । पुरीले २४ बिगाहा सरकारी जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेको भेटिएको छ ।

पुरी दमक नगरपालिका–६ का हुन् । उनी नेकपा एकनम्बर प्रदेश कमिटीका सदस्य हुन् । उनी गत स्थानीय निर्वाचनमा दमक नगरपालिकाको मेयरमा उम्मेदवार थिए । पुष्पकमल दाहाल निकट पुरी चुनावमा पराजित भएका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गर्दा ३३ बिगाहा सरकारी जग्गा पुरीको नाममा पुगेको देखिएको थियो ।

अझै केही जग्गा पुरीको नाममा देखिन सक्ने आँकलन रहेकाले अनुसन्धान जारी रहेको ती अधिकारीले बताए । दमक नगरपालिका–८ (साबिक १३ र १४) मा ‘बालुवाटार’ फाँट छ । चार दसकअघि रतुवा खोलाले पुरिरहने भएकाले ‘बालुवाटार’ नामाकरण गरिएको त्यही फाँटमा सुकुम्बासीका निम्ति कित्ताकाट भएको सरकारी जग्गा पुरीले आफ्नो नाममा ल्याएको भेटिएको थियो ।

पुरीले सरकारी जग्गा विक्रीबाट आएको सम्पत्ति निजी घर निर्माण, जग्गा खरिद र क्रसर उद्योगमा लगानी गरेको देखिएको विभागले जनाएको छ । पुरीले विभिन्न व्यक्तिहरूलाई जग्गा बिक्री गरेका छन् । तीमध्ये कतिपय व्यक्तिले किनेको जग्गा अर्को व्यक्तिलाई बिक्री गरिसकेका छन् । त्यसरी बिक्री गर्ने व्यक्ति पनि अनुसन्धानमा आउने विभागले जनाएको छ । पुरीविरूद्ध ११ करोड बिगो बराबरको गैरकानुनी सम्पत्ति फेला परेको विभागले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्