नेपालमा हालसम्म पर्यटन क्षेत्रको ९० अर्ब गुम्यो, विश्वभरको पर्यटन क्षेत्रमा गम्भीर धक्का



सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गर्दै उद्घाटनसमेत गरेको थियो । तर, चीनबाट फैलिएको कोरोना भाइरस विश्वभर महामारीका रूपमा फैलिएपछि नेपालले भ्रमण वर्ष कार्यक्रम नै रद्द मात्रै गरेन, सम्पूर्ण सीमानाकासमेत बन्द गर्‍यो । गत ११ चैतदेखि पूर्ण रूपमा विमानस्थल तथा एयरलाइन्स सेवा ठप्प पारेसँगै नेपालमा पर्यटक आगमनसमेत ठप्प भयो । सोही कारण सन् २०२० मा इतिहासकै कम पर्यटक नेपाल भित्रिएका छन् ।

नेपालमा सन् १९९३ देखि पर्यटक आगमनको तथ्यांक राख्न थालिएको हो । पहिलो वर्ष सन् १९९३ मा २ लाख ९३ हजार ६ सय ६७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसपछि प्रत्येक वर्ष बढ्दो क्रममा रहेको पर्यटक आगमनदर माओवादी द्वन्द्व चर्कंदै गएपछि सन् २००२ मा घटेर २ लाख ७५ हजार ४ सय ६८ मा खुम्चिएको थियो । त्यसयता पर्यटक आगमनदर नेपालमा बढ्दो क्रममा रहेको थियो । तर, कोभिड–१९ का कारण सन् २०२० मा इतिहासकै कम पर्यटक आएका हुन् ।

सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल आएकामा सन् २०२० मा घटेर २ लाख ३० हजार ८५ पर्यटक मात्रै नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्षको भन्दा ८१ प्रतिशतले कमी हो । सन् २०२० मा आएको पर्यटकको तथ्यांक १८ वर्षअगाडि भित्रिएको तथ्यांकभन्दा पनि कम हो । अहिले घटेको पर्यटकको संख्याको असर देखिन सुरु गरेको होटेल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले बताइन् । कोभिड–१९ कै कारण राणा परिवारले पाँचतारे होटेल अन्नपूर्ण नै बन्द गर्ने निर्णय गरिसकेको छ ।

कोरोनाको असर पर्यटन क्षेत्रमा कतिसम्म जान्छ भन्ने अनुमानसमेत गर्न नसकिएको राणा बताउँछिन् । ‘बेलायतबाट सुरु भएको अर्को भाइरसले पर्यटन क्षेत्रमा झनै सन्त्रास छाएकाले असर अझै बढ्दै जाने देखेर होटेल बन्द गरेको हो,’ अध्यक्ष राणाले भनिन् । ठूला होटेलहरूले कर्मचारीहरू कटौती गरिरहेका छन् भने नयाँ बन्दै गरेका होटेलहरू पनि यतिवेला अलमलमा परेका छन् ।

नेपालमा हालसम्म पर्यटन क्षेत्रको ९० अर्ब गुम्यो
नेपालको पर्यटन क्षेत्रमा मात्रै १५ खर्ब रुपैयाँ लगानी भएको अनुमान गरिएको छ । विभिन्न समयमा भएका अध्ययन र अनुसन्धानले पर्यटनबाट १० लाखभन्दा बढी मानिसहरूले प्रत्यक्ष रोजगारी पाएको देखाएको छ । ‘अप्रत्यक्ष रूपमा २० लाखभन्दा बढीले पर्यटनबाटै जीवन निर्वाह गरेका छन्,’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० धनञ्जय रेग्मीले भने । वार्षिक रूपमा ९० अर्ब रुपैयाँ हाराहारी आम्दानी गर्दै आएको छ । अहिले पर्यटन क्षेत्रबाट १० अर्ब रुपैयाँ मासिक गुमेको छ । हालसम्म पर्यटन क्षेत्रले ९० अर्ब रुपैयाँभन्दा बढी गुमाइसकेको छ । पर्यटन क्षेत्र उकास्न राष्ट्र बैंकले आफ्नो वित्तीय नीतिमार्फत पनि विभिन्न कार्यक्रमहरू ल्याएको छ  ।

विश्वभरको पर्यटन क्षेत्रमा गम्भीर धक्का
कोभिड–१९ को सबैभन्दा ठूलो असर पर्यटन र वायुसेवा कम्पनीमा परेको छ । जसले गर्दा विश्वभर आन्तरिक र बाह्य पर्यटक नै ठप्प भयो । विश्व पर्यटन संगठनका अनुसार सन् २०२० मा विश्वभरि पर्यटन ७५ प्रतिशतले घटेको छ । यसले विश्वभर करिब ९ देखि १२ खर्ब अमेरिकी डलरको नोक्सानी हुने र पर्यटनसँग प्रत्यक्ष जोडिएका १० देखि १२ करोड रोजगारीका अवसर जोखिममा पर्ने विभिन्न अध्ययनले देखाएको छ ।

यता, अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन ९आएटा०ले पनि विश्वभरका एयरलाइन्स कम्पनीमा पर्ने असरका प्रक्षेपणहरू गरिरहेको छ । दुवै क्षेत्रले गरेर सन् २०२० मा ९ देखि १२ खर्ब डलर गुमाएको अनुमान छ । युएनडब्लुटिओले पनि सन् २०२० पर्यटक आगमन र पर्यटन क्षेत्रमा पर्ने असरलाई शताब्दीकै खराब वर्ष भनेको छ । सन् २००९ मा विश्वभर आर्थिक मन्दी आउँदा पर्यटक आगमनदर ४ प्रतिशत मात्रै घटेको थियो ।

सन् २०२० मा समग्रमा ७० देखि ७५ प्रतिशतले गिरावट आएको छ । सबैभन्दा धेरै एसिया प्रशान्त क्षेत्रमा ८२ प्रतिशतले गिरावट आएको छ । सन् २०२० पर्यटन क्षेत्रका लागि शताब्दीकै खराब वर्षको परिपूर्ति हुन ५ देखि ७ वर्ष लाग्ने अनुमान गरेको छ । सन् २०१९ मा १ अर्ब ४६ करोड पर्यटक विश्व भ्रमणमा निस्केका थिए ।

सन् २०२१ आन्तरिक पर्यटकको भर
सन् २०२० को नेपाल भ्रमण वर्ष कोरोनाका कारण स्थगित भए पनि सन् २०२१ को मध्यबाट लयमा फर्काउने गरी काम अगाडि बढाएको सरकारी निकायहरूले दाबी गर्दै आएका छन् । सरकारले आन्तरिक पर्यटक प्रवद्र्धन गर्न भन्दै ‘देशदर्शन’ कार्यक्रम ल्याउन लागेको बोर्डका सिइओ रेग्मीले जानकारी दिए । सरकारी निकायदेखि कर्पोरेट हाउस, वित्तीय क्षेत्रका कर्मचारीलाई विशेष प्याकेज दिएर देशका सबै गन्तव्यमा समानुपातिक रूपमा घुम्न पठाउने योजना सरकारको छ । जसबाट ३० लाख मानिस योजनाबद्ध रूपमा आफ्नै देशका गन्तव्य घुम्न निस्कने अनुमान सरकारको छ ।

एयरलाइन्स र विमानस्थलमा पनि गम्भीर असर
कोरोना महामारीका कारण हवाई यात्रुको संख्यामा भारी गिरावट आएको छ । सन् २०२० मा महामारीमा सीमानाका बन्द हुँदा विमानस्थल र एयरलाइन्सहरू ठप्प भएका थिए । गत ११ चैतदेखि १७ भदौसम्म पूर्ण बन्द भएको थियो । पछिल्लो समय खुले पनि यात्रुको चाप बढ्न सकेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२० जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा नेपालमा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या गत वर्षको तुलनामा ७२ प्रतिशतले कमी आएको हो । यो अवधिमा अन्तर्राष्ट्रिय यात्रुको संख्या १० लाख ३९ हजार ३ सय २२ यात्रुले सेवा लिएका छन् ।

अघिल्लो यो अवधिमा ४१ लाख ३८ हजार ४ सय ८२ यात्रुले सेवा लिएका थिए । त्यस्तै, आन्तरिक उडानतर्फ सन् २०१९ को तुलनामा ६४ प्रतिशतले यात्रु घटेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण्का महानिर्देशक राजन पोखरेलका अनुसार सन् २०२० को जनवरीदेखि नोभेम्बरसम्म १० लाख ३० हजार २ सय ९६ जनाले यात्रा गरेका छन् । जुन अघिल्लो वर्ष ३१ लाख ८८ हजार ४ सय ७९ जनाले यात्रा गरेका थिए ।

कोभिड–१९ का कारण नेपालमा हवाई सेवा दिने कम्पनीहरूको आम्दानी १७ अर्ब ६४ करोड घटेको हो । प्राधिकरणका अनुसार कोरोनाका कारण नेपाल वायुसेवा निगमले अघिल्लो वर्षको तुलनामा ५ अर्ब न्यून आम्दानी गरेको छ । त्यस्तै, हिमालय एयरलाइन्सले २ अर्ब गुमाएको छ भने आन्तरिक उडान गर्ने एयरलाइन्सहरूले १० अर्ब ६२ करोड आम्दानी गुमाएको महानिर्देशक पोखरेलले बताए । नयाँ पत्रिकामा खबर छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्