‘केपी ओलीको व्यक्तित्व चुलिएको नेकपाकै नेतालाई सह्य भएन’



पौष १८,काठमाडौं । उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तित्व बढेको नेकपाकै अरु नेतालाई असह्य भएको बताएका छन् ।

नेकपा राजधानी मजदूर विशेष जिल्ला कमिटीको आयोजनामा पुतलीसडकस्थित जिफन्टको प्रांगणमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले भने- ‘अरु कमरेडहरुलाई देशभक्त केपी ओलीको व्यक्तित्व बढेको असह्य भयो । त्यसैले उहाँहरु सधैं खिलाफमै लागिरहनुभयो ।’

कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायतका नेपाली भूमि फिर्ता गरेर ओलीले देशभक्तिपूर्ण काम गरेको र त्यो काम अन्य नेकपा नेताहरुलाई चित्त नबुझेको आरोप लगाउँदै पोखरेलले भने- ‘नेपाली भूमि फिर्ता लिएपछि केपी ओली कमरेडको व्यक्तित्व ह्वात्तै माथि पुग्यो । जुन, अरुलाई असह्य भयो ।’

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालप्रति इङ्गित गर्दै बोलेका पोखरेलले प्रधानमन्त्रीलाई पार्टी भित्रैबाट असहयोग भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने निर्णय गर्नुपरेको र यसलाई असंवैधानिक भन्नै नसकिने दाबी गरे ।

पोखरेलले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट कसैले पनि हटाउन नसक्ने जिकिर पनि गरे । गत अधिवेशनबाट आउँदो अधिवेशनसम्मको लागि ओली पार्टी अध्यक्ष नै भएको र जननिर्वाचित प्रधानमन्त्रीलाई कसैले हटाउन आँट नगर्ने पोखरेलको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्