दिपक बोहरा
तुलसीपुर २४ पुस
पछिल्लो चरणमा थारु युवाहरुले थारु पहिचान भुल्दै गए भन्ने गुनासो बढ्दै गईरहेको छ । युवाहरुले थारु संस्कृति, भेषभुषा, रहन सहन, लावाई खावाई भुले भन्ने गुनासो आईरहेका छन् । तर पछिल्लो समय थारु युवाहरु पनि आफ्नो पहिचान कसरी जोगाउँने भन्ने बिषयमा चिन्तित छन् । आईतबार तुलसीपुर उपमहानगरस्तरीय माघी संस्कृतिक कार्यक्रममा युवाहरुको उपस्थितिले युवाहरुपनि थारु संस्कृति, पहिचान जोगाउन चिन्तित छन्, भन्ने जनाउछ । थारु संस्कृति प्रतियोगीतामा भाग लिएका १६ समुह मध्य १३ समुह युवाहरुको नै थियो ।
थारुका पहिचान झल्कने भेशभूषासहित विभिन्न साँस्कृतिक पहिचान एवम परम्परागत औजारहरु सहित युवाहरु पनि थारु संस्कृतिक प्रतियोगीतामा सहभागी थिए । यसले युवाहरु पनि थारु संस्कृति संरक्षण गर्न तल्लिन छन्, भन्ने प्रष्ट रहेको थारु अगुवा खुसीराम चौधरीले बताए । उनले भने ‘पछिल्लो समय युवाहरु पनि थारु पहिचान जोगाउन चिन्तित बन्न थालेका छन् ।’ तुलसीपुर उपमहानगरपालिका ५ जबरपुरमा रहको भुह्यारथान निर्माण समितिले थारु संस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्न माघि संस्कृतिक प्रतियोगीताको अयोजना गरेको थियो ।
जसमा दक्षिण कपडा देवीको समुह प्रथम, भुसेरीको समुह द्धितिय र बनगाउँको समुह तृतिय भएका थिए । प्रथमलाई पाँच हजार, द्धितियलाई चार हजार र तृतियलाई तीन हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो । साथै प्रतियोगीतामा सहभागी बनेका अन्य सबै समुहलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।
भुह्यारथान निर्माण समितिका अध्यक्ष राम शरण चौधरीको अध्यक्षता तथा उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराको प्रमुख आतिथ्यता तथा प्रतिनिधि सभाका सदस्य हिराचन्द्र केसी, प्रदेशसभा सदस्य ईन्द्रजित चौधरी, तुलसीपुर उपमहानगरपालिकाका मेयेर घनश्याम पाण्डेको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस अबशरमा बक्ताहरुले थारु संस्कृति जोगाउन युवाहरु सक्रिय हुनुपर्ने वताएका थिए । पुरानो पुस्ताले पनि नयाँ पुस्तालाई थारुको पहिचान सिकाउनु पर्ने वताएका थिए । कार्यक्रममा नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मी, महतवा महासंघ दाङका अध्यक्ष चन्द्र पशाद चौधरी, माओवादी केन्द्रका नेता रामजी चौधरी, थारु अगुवा शरण थारु, छोटिलाल थारु, थारु स्वास्थ्यकर्मी जीवराज चौधरी, आदिबासी जनजाती समाजका प्रतिनिधि नरेश राजभण्डारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
साथै थारु स्वास्थ्यकर्मीहरुको प्रस्तुती समेत रहेको थियो । समितिका सहसचिब राज बहादुर घर्तीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण उपाध्यक्ष नारायण चौधरीले गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।