कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकै रगतले अधिकांश विरामी स्थानीयवासीको ज्यान जोगिँदै आएको छ । यहाँका कैलाली, कञ्चनपुर बाहेकका अन्य सात पहाडी जिल्ला, बझाङ, बैतडी, अछाम, बाजुरा, डडेल्धुरा, दार्चुला तथा डोटीमा ब्लड बैंक नभएका कारण रगतको आवश्यक परेमा स्थानीयवासीले सेना तथा प्रहरीका ब्यारेकमा धाउनुपर्ने हुन्छ ।
रगत आवश्यक परेका बिरामीलाई यहाँका सुरक्षाकर्मीले भनेकै समयमा रगत दान गर्ने भएका कारण अधिकांश स्थानीयवासीको सेना, प्रहरीले अकालमै ज्यान जोगाइदिने गरेका छन् । सेना तथा सशस्त्र प्रहरीले यहाँका सयौँ नागरिकलाई आफ्नो रगत दिएर ज्यान जोगाउन सफल भएका छन् । यसै सिलसिलामा नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रगतदान गरेर ११० स्थानीयवासीको ज्यान बचाएका छन् भने सशस्त्र प्रहरीले ८५ को ज्यान जोगाएको बताइएको छ ।
सुदूरपश्चिम पृतना हेडक्वार्टरले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७६ र ७७ मा पृतना मातहत रहेका विभिन्न युनिटका ९२ अधिकृत तथा अन्य सैनिकले आफ्नो रगत दिएर यहाँका ११० स्थानीयवासीको ज्यान जोगाउन सफल भएको छ । सुदूरपश्चिम प्रदेशमा भएका स्वास्थ्य संस्थामा रगत नपाउने हुँदा यहाँका सैनिकले रगतको आवश्यकता परेका महिला तथा पुरुषलाई निःशुल्क रगतदान गरेका कारण उनीहरुको ज्यान जोगिने गरेको छ ।
सेनाले सुदूरपश्चिममा रक्तदान कार्यलाई निकै अग्रता दिएपछि स्थानीयवासीमा खुशी छाएको छ । कसैलाई रगत आवश्यक परे यहाँ कार्यरत सैनिकले जुनसुकै अस्पतालमा गएर भए पनि रगत दान गर्दै आएको सुदूरपश्चिम पृतना मुख्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।