प्रधानमन्त्री कपको उपाधी प्रदेश १ लाई



टेकबहादुर पुन

पौष१९, दाङ । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी प्रदेश १ ले जितेको छ । दाङको लमही स्थित क्रिकेट मैदानमा भएको फाईनल खेलमा प्रदेश १ ले टोली विभागीय डिफेन्डिङ च्याम्पियन एपिएफलाई ६ रनले पराजित गरेको हो । जितका लागि कप्तान रुबिना क्षेत्री र एलिसा खडियाले समान दुई–दुई विकेट लिए भने संगीत राईले एक विकेट हात पारिन् । प्रदेश १ ले दिएको १ सय ६ रनको लक्ष्य पछ्याउने क्रममा रहेको एपिएफ २० ओभरमा ७ विकेट गुमाएर ९९ रनमा सिमित रह्यो । उसका लागी ममता चौधरीले सर्वाधिक ३४ रन बनाइन् । करुणा भण्डारीले अबिजित रहँदै २६ रन जोडेपनि एपिएफलाई जित दिलाउन भने सकेनन् । ज्योति पाण्डेले १४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । सुरुमै खराब प्रदर्शन गरेको एपिएफले ५ विकेट पश्चात् बलियो साझेदारी गरेपनी टिमलाई जित दिलाउन भने सकेनन् । त्यसअघि टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो । उसका लागि अप्सरी बेगमले ३४ र काजल श्रेष्ठले २९ रनको योगदान गरिन । यस्तै कप्तान रुबिना क्षेत्रीले १८ रन बनाइन् । बलिङतर्फ एपिएफकी सीता राना मगरले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिँदा करुणा भण्डारीको नाममा १ विकेट रह्यो । एपिएफले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफुलाई बलियो टिमको रुपमा स्थापित गर्दै आईरहेको थियो । उसको रेकर्ड प्रदेश १ ले पहिलो पटक तोडेको हो । यो भन्दा पहिले सोही प्रकृतीको प्रतियोगितामा प्रदेश १ लाई एपिएफले हराएको थियो । अहिले भने प्रदेश १ ले नतिजा उल्टाउँदै आफ्नो पक्ष्यमा पारेको छ । जितसँगै प्रदेश १ ले पाँच लाख र उपविजेता एपिएफले तीन लाख रुपैयाँमा चित्त बुझाएको छ । खेल हेर्न सैयौं दर्शक मैदानमा पुगेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्