ओली र प्रचण्डबिच पार्टी एकता प्रक्रियाका बारेमा यस्तो निष्कर्ष निस्कियो



सैघाली खबर
काठमाडौं, २४ पुस । – नेकपा एमाले र माओवादी केन्द्रबिच कार्यदल बनाएर एकीकृत पार्टीको वैचारिक र संगठनात्मक संरचना टुंग्याउने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आइतबार बेलुका ओली निवास बालकोटमा भएको छलफलमा यस्तो सहमति भएको हो ।

दुई शीर्ष नेताबिच आन्तरिक छलफलका लागि सोमबार पार्टी बैठक डाक्ने र मंगलबार पार्टी एकता संयोजन समितिको बैठक राख्ने सहमति भएको छ । मंगलबार बस्ने संयोजन समिति बैठकले कार्यदल गठन गरेर त्यसको कार्यक्षेत्र तोक्ने तयारी छ ।

माओवादीका अध्यक्ष प्रचण्डले पार्टी एकतालाई निष्कर्षमा पुर्याउनैपर्छ भन्नेमा आफूहरु बीच छलफल भएको बताउँदै त्यसको लागि सोमबार आ(आफनो पार्टीभित्र छलफल गरेर मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको जानकारी दिनुभयो ।

केही दिनभित्र पार्टी एकता प्रकृयालाई निष्कर्षमा पुर्याउनेबारे दुई अध्यक्षबिच सहमति भएको पनि उहाँले जानकारी दिनुभयो । एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने वा नगर्ने तथा कस्तो वैचारिक संगठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबिच फरक फरक धारणा सार्वजनिक भैरहँदा ओली र प्रचण्डबिच भेटवार्ता भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्