पश्चिमी वायुको प्रभाव देशभर केही ठाउँमा वर्षा र हिमपात



२० पुष,  काठमाडाैं । हिउँद लागेसंगै मौसम बदली हुनुका साथै चिसो देशै भर बढेको छ। देशका विभिन्न क्षेत्रमा चिसो बढेको हो।  पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बद्ली भएको छ ।

 


धेरैजसो हिमाली जिल्लामा हिमपात भएको छ । दार्चुला, मुगु, हुम्ला, जिरीलगायतका ठाउँमा हिमपात भइरहेको मौसमविद्ले बताएका छन् । दार्चुलाको व्यास, अपी हिमाल, नौगाड, दुहुँ र मार्मा गाउँपालिकाको उच्च भू–भागमा हिमपात भएको छ ।

यस्तै, हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिजो बिहानदेखि नै हिमपात हुँदा घरबाहिर निस्कनसमेत कठिनाइ भएको छ । हिमपातका कारण दार्चुलाको सञ्चार सेवा समेत बन्द भएको छ । घाम नलाग्दा सौर्य उर्जाबाट सञ्चालित टावरमा ब्याट्री चार्ज हुन नपाउँदा टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।

यस्तै, पश्चिमी वायुको प्रभावकै कारण केही ठाउँमा वर्षासमेत भएको छ । गएको २४ घण्टामा सबैभन्दा धेरै गण्डकी प्रदेशको म्याग्दीमा वर्षा भएको मौसमविद्ले जानकारी दिएका छन् । महाशाखाका अनुसार म्याग्दीमा ७ दशमलव ४ मिलीमिटर पानी परेको छ ।

अन्य जिल्ला प्यूठान, दाङ, गुल्मी, काभ्रे, दोलखा, भोजपुर, उदयपुरमा पनि पानी परेको छ । आज पनि हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली र उच्च पहाडी जिल्लामा हिमपातको सम्भावना रहेको बताइएको छ ।

यता, राति बादल लागेपछि काठमाण्डौको न्यूनतम तापक्रम ह्वात्तै बढेको छ । हिजो बिहान २ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज बढेर ९ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

पश्चिमी वायुको प्रभाव पर्सिसम्म नै रहने मौसमविद्ले बताएका छन् । यो प्रणाली हटेपछि देशभरकै अधिकतम र न्यूनतम तापक्रम घटी चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट जोगिन पनि मौसमविद्ले सुझाव दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्