काठमाडौं, २० पुस। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद चुलिएका बेला बिरामले च्यापेकी पत्नी सीता दाहाललाई लिएर सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत जाँदैछन्।
प्रचण्डको यो दिल्ली हुँदै मुम्बईसम्मको यात्रालाई सीता दाहालको उपचारका हिसाबमा मात्र राजनीतिक वृत्तमा हेरिएको छैन। तर सचिवालयले भने यो नितान्त पारिवारिक स्वास्थ्य उपचारका लागि हुन लागेको यात्राका रुपमा व्याख्या गरेको छ।
प्रचण्डको साथमा सीतासँगै छोरी तथा स्वकीय सचिव गंगा दाहाल पनि जानेछिन्। सीताको उपचारमा गंगा नै खटिएका कारण उनलाई लैजान लागिएको हो।
अकास्मात विरामले च्यापेपछि सीतालाई केही दिन अघि भैंसेपाटीको मेडिसीटी अस्पतालमा लगिएको थियो। त्यहाँ डाक्टरहरूसँगको सल्लाहपछि भारतको मुम्बईमा उपचारको व्यवस्था मिलाइएको बताइन्छ। यसअघि अमेरिका र सिंगापुरमा सीताको उपचार भएको थियो।
राजनीतिक अर्थ
प्रचण्डको यो भ्रमणमा केही राजनीतिक भेट हुन सक्ने अनुमान गरिएको छ। सीताको स्वास्थ्य अवस्था बुझ्नका लागि भारतीय जनता पार्टीका नेताहरू पुग्न सक्ने अनुमान गरिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका नजिक मानिएका तथा नेपाल मामिलाका जानकार समेत रहेका महाराष्ट्रका गभर्नर भगतसिंह कोसीयारीसँग भेट हुन सक्ने अनुमान गरिएको हो।
‘उपचारका लागि दिल्लीका अस्पताललाई प्रभावकारी मानिन्छ। तर प्रचण्डले यहि क्रममा कोसीयारीसँग भेटेर नेपालको राजनीतिक अवस्थाका विषयमा मोदीसम्म पुग्नेगरी ब्रिफिङको चाँजो मिलाएको हुनसक्छ’, उनीनिकट एक जना नेताले भने,‘यो पारिवारिक स्वास्थ्य उपचारसँगै राजनीतिक अर्थ राख्न सक्ने भ्रमण पनि हो।’
प्रचण्डले अकास्मात् दिल्ली भ्रमणमा जाने विषय उनी पक्षको स्थायी समिति बैठकका क्रममा खुलाएका थिए। पेरिसडाँडामा भएको बैठकमा आन्दोलनका कार्यक्रम अनुमोदन गरिसकेपछि नेताहरूलाई दिल्ली जान लागेको जानकारी गराएका थिए
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।