नेकपाले नयाँ आधारमा संगठनात्मक एकता गर्दा ख्याल गर्नुपर्ने बुंदाहरु



२० पुस, काठमाण्डाैं। नेकपाले नयाँ आधारमा संगठनात्मक एकता टुंगाउन अध्यक्ष कमरेड माधवकुमार नेपालकाे नेतृत्वमा कार्यदल गठन गरेकाे छ। उक्त कार्यदलले निम्न विषयमा आफ्नाे ध्यान केन्द्रित गर्न जरुरी छ।

१. जनताकाे बहुदलीय जनवाद, २१ आैं शताब्दीकाे जनवाद, माओवाद लगायतका थाँती रहेका वैचारिक मुद्दामा गम्भीर वैचारिक बहसमार्फत् अहिले नै साझा निष्कर्षमा पुग्नु राम्राे हुनेछ। वैचारिक मुद्दालाई तपसिलमा राख्दा त्यसले एकताकाे वैचारिक र भावनात्मक आधार अपेक्षित मजभुत नहुन सक्छ।

२. समाजवादउन्मुख भनिए पनि पार्टीकाे राजनीतिक कार्यदिशामा जनवाद शब्द पर्न गएकाे छ। जुनसुकै नामांकन गरिए पनि जनवाद पुँजीवादी क्रान्तिकाे कार्यदिशा हाे। तसर्थ, जनताकाे जनवादकाे कार्यदिशालाई परिस्कृत गरी समाजवादी कार्यदिशाकाे मूर्तिकरण जरुरी छ।

३. कम्युनिस्ट आन्दाेलनमा शब्द र कर्मकाे एकत्व आवश्यक हुन जान्छ। तर, तत्कालका लागि त्यसाे गर्न सम्भव नभए शब्द र कर्मबिचकाे तादाम्यता कायम हुने गरी स्पष्ट नीति बनाउन जरुरी छ।

४. नेकपाकाे सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेकाे राजनीतिक प्रस्ताव स्थायी समितिले पारित गरी अभिलेखीकरणमा राख्नुपर्दछ, ताकि भाेलिकाे पुस्तालाई समेत ओली प्रवृत्ति र नेकपाकाे अन्तरसंघर्षकाे अन्तर्य बुझ्न सघाउ पुगाेस्।
५. अध्यक्षकाे राजनीतिक प्रस्तावमा आगामी कार्यदिशा र कार्ययाेजना थप गरी पार्टीलाई विचारधारात्मक, राजनीतिक कार्यदिशा, संगठन र संघर्षका दृष्टिले स्पष्ट दिशानिर्देश गर्नुपर्दछ।

६. नयाँ पार्टी सदस्यता बितरण गर्दा आवेदकलाई आवेदनपश्चात् तत्काल पार्टी स्कुलमा भर्ना गर्ने र उक्त स्कुलले दिएकाे सिफारिसका आधारमा संगठित सदस्यता प्रदान गर्ने नीति र त्यसकाे व्यवस्थापनबारे अहिलेदेखि नै तयारी गर्नुपर्दछ।

७. तीन/तीन महिनामा पार्टी चहारिरहने कार्यकर्ताका कारण कम्युनिस्ट पार्टीकाे संगठनात्मक प्रणाली नै भताभुंग हुने गरेकाे छ। बिना सैद्धान्तिक कारण पार्टीहरुमा ओहाेरदाेहाेर गरिरहने कार्यकर्तालाई कम्तिमा एक तह तल्लाे कमिटीमा राख्ने विधि बनाइनुपर्छ। यसले मात्र पार्टी निर्माणकाे वैचारिक, भाैतिक र संगठनात्मक जग बसाल्न सक्छ।

८. नेकपामा जनवादी केन्द्रीयताकाे माैलिक अभ्यास जरुरी छ। त्यसका लागि कार्यसम्पादन मूल्यांकन र निर्वाचनकाे प्रक्रियालाई अवलम्बन गर्नु राम्राे हुन्छ। यसका लागि निश्चित कमिटी वा कार्यदलले दिएकाे कार्यसम्पादनपछि मात्र निर्वाचनका लागि उम्मेदवारी दिन पाउने व्यवस्था गर्नु उत्तम हुन्छ।

९. ओली समूहले ११९९ काे केन्द्रीय समिति बनाएको कुराबाट नेकपा प्रभावित हुनु हुँदैन। त्याे तरिका पूर्वमाओवादीले अभ्यास गरेर असफलसिद्ध भएकाे तरिका हाे। तसर्थ, हाल कायम कमिटी संख्या नबढ्ने गरी रिक्त स्थानमा मात्र पदपूर्ति गर्नु राम्राे हुनेछ।

१०. शीर्ष नेताहरुकाे सचिवालयमा दुवै पृष्ठभूमिका कमरेडहरुलाई राख्नु राम्राे हुनेछ। यसले पार्टीभित्रकाे एकता सुदृढ गर्न, दुवै पृष्ठभूमिका कमिटीकाे समन्वय गर्न र अवान्छित आशंका निवारणमा समेत सकारात्मक भूमिका खेल्न सक्छ।
तसर्थ, तत्कालका लागि यति गर्न सकेमा बाँकी कुरा महाधिवेशनसम्म थप व्यवस्थित गर्न सकिनेछ। नेकपाकाे कार्यदलका १२ जना कमरेडहरुले यसतर्फ ध्यान दिने अपेक्षा गर्दछु।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्