प्रचण्ड जसरी पनि प्रधानमन्त्री हुने दिशामा लागेपछि संसद नै विघटन गर्नुपर्‍यो: बादल



पुस २०, चितवन । गृहमन्त्री रामबहादुर थापा’बादल’ ले प्रचण्ड र माधवकुमार नेपालले पार्टीका अध्यक्षलाई हटाएर गुट चलाएकाले उनीहरूलाई स्वीकार गर्न नसकिएको बताएका छन्।

गृह जिल्ला चितवनमा सोमबार ओली समूहले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बादलले केपी ओली नेतृत्वको पार्टीमात्रै आधिकारिक नेकपा भएको बताए। अध्यक्षलाई आत्मसमर्पण गर्न धम्की सहितको आरोपपत्र बैठकमा पेश गरेपछि नेतृत्वले त्यसलाई स्वीकार गर्न नसकेक‍ो उनले बताए।

‘अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट आत्मसमर्पण गर्न धम्की आएपछि त्यसलाई स्वीकार्न सक्ने कुरा भएन,’ उनले भने, ‘नेतृत्वलाई आत्मसमर्पण गर्न बाध्य पारेर कस्तो पार्टी निर्माण गर्न खोज्दै छौं भन्ने कुरो हो।’

उनले प्रचण्ड-नेपाल समूह पार्टी फुटाउने लाइनमै सक्रिय रहँदै आएको आरोप लगाए। ‘उनीहरूले खेलेको फुटवाद र विसर्जनवादविरूद्धमा हामी एक ढंगले लागिरहेका थियौं, एकता जोगाउने काममा लाग्दालाग्दै पनि सकिएन’, उनले भने, ‘अहिले पनि एकता जोगाउन सकिन्छ कि भनेर लागेकै छौं।’

बादलले प्रचण्ड जसरी पनि प्रधानमन्त्री हुने दिशामा लागेपछि संसद नै विघटन गर्नुपरेको बताए।

‘संसद नै नरहेपछि त प्रधानमन्त्री बन्न अब चुनाव जितेर आउनुपर्‍यो,’ उनले भने, ‘जनताको माझमा गएर चुनाव जितेर प्रधाामन्त्री बन्नुहोला, कार्यकर्ताको मन जितेर महाधिवेशनबाट अध्यक्ष बन्नुहोला, शुभकामना छ तर यसै प्रधानमन्त्री बन्न पाइँदैन।’

उनले राज्यरूपान्तरण, राष्ट्रवाद, जनताको जनवाद लगायतका कार्यभार पूरा गर्नका लागि ओलीको नेतृत्व, नीति र विचार उपयुक्त रहेको दाबी गरे। ‘तपाईंहरू अब चुनावको तयारीमा लाग्नुहोला’, कार्यकर्तालाई उनले भने, ‘सबै निर्वाचन क्षेत्रमा विजयको झण्डा फहराउनुपर्छ।’

ओली समूहले एक पार्टी प्यालेसमा जिल्ला स्तरीय कार्यकर्ता भेला गर्दैगर्दा सोही समयमा प्रचण्ड-नेपाल समूहले भरतपुर महानगर कमिटीको कार्यालयमा महानगर स्तरीय भेलाको आयोजना गरेको थियो।

उक्त भेलालाई पार्टीका नेता योगेश भट्टराई र रामकुमारी झाँक्रीले सम्बोधन गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्