कोभिड विरुद्धको युद्धकी कमाण्डर डा नितु अधिकारी अहिले आफैं संक्रमित



पुष २१ काठमाडौँ  । चितवनको भरतपुरमा स्थापना गरिएको भरतपुर कोभिड १९ ल्याबकी ‘क्याप्टेन’ नितु अधिकारी र उन्का सहयोगी सामान्यत: ९:००-५:०० बजेसम्म काम गर्ने भनिए पनि कैयौं पटक आधा रातसम्म र एकपटक त बिहान छर्लंग उज्यालो हुँदासम्म पनि काम गरेका र यो विशेष परिस्थितिमा उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् यी फ्रन्टलाइनरहरु ।

सैँतीस हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहेकी डा नितु अधिकारी हाल आएर आफैं सङ्क्रमित भएकी छिन् । भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड–१९ प्रयोगशालाको नेतृत्व गर्दै आएकी डा अधिकारी लामो समय सङ्क्रमणबाट सुरक्षित रहेकी थिइन् ।

उनी गत साता सङ्क्रमित भएपछि होम आइसोलेसनमा बसिरहेकी छिन् । उनीसँगै श्रीमान् र आमासमेत सङ्क्रमित भएका छन् । उक्त प्रयोगशालामा दैनिक ६ सयसम्म स्वाब परीक्षण हुने गरेको थियो । शुरुआती समयमा स्वाबको सङ्ख्या धेरै भएपछि २४ सै घण्टा काम गर्नुपरेको थियो ।

उक्त ल्याबमा काम गर्ने अन्य कर्मचारीलाई यसअघि नै कोरोना पुष्टि भइसकेको छ । भरतपुर कोभिड–१९ प्रयोगशालामा कार्यरत मेडिकल प्राविधिक आफू सुरक्षित भई काम गर्दा पनि सङ्क्रमित हुन पुगेको बताउँछन् । ‘पिपिइ सेट लगाउने, निरन्तर सरसफाइ गर्ने, प्रयोग भएका वस्तुको तत्काल र वैज्ञानिक हिसाबले निर्मलीकरण गर्ने गरिन्छ, यति गर्दा पनि सङ्क्रमित हुन पुगिन डा नितु ।

जिल्लामा पोजेटिभ सङ्क्रमित छ हजार ४१२ जना र मृतकको सङ्ख्या १०१ पुगेको छ।
छ हजार ६३ जना निको भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरमा मात्रै चार हजार ५८९ जना छन् । यस्तै माडीमा १३१, राप्तीमा ३११, रत्ननगरमा ७५७, खैरहनीमा ३९८, कालिका नगरमा १८८ र इच्छाकामनामा ३८ जना सङ्क्रमित देखिएका छन् ।

ल्याबको प्राविधिक काम बाहेक डा नीतुको खटाइ यसको व्यवस्थापकीय पाटोमा पनि छ । ल्याबमा काम गर्ने आफ्नो टिमका सदस्यहरुको बसोबासको व्यवस्थासँगै टेकुको केन्द्रीय प्रयोगशालासँगको समन्वयदेखि भरतपुर अस्पतालका पदाधिकारीहरुसँग निरन्तर सम्वाद र छलफलमा रहन्छिन् । ल्याबको सीमित जनशक्तिलाई भयरहित अवस्थामा काम गर्ने वतावरण बनाउन यिनी तल्लिन छिन् ।
कोभिड विरुद्धको युद्धकी कमाण्डर ३७ हजारको स्वाब परीक्षण गरेकी डा नितु अधिकारीको शीघ्र स्वास्थ्य लाभको कामना!!

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्