काठमाडौं । कतारस्थित नेपाली दूतावासले स्वदेश फर्किंदा सुनको भरिया नबन्न वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुलाई आग्रह गरेको छ । कतारस्थित नेपाली दूतावासले सूचना जारी गर्दै हालैका दिनमा कतारबाट नेपाल फर्किनेहरुलाई नचिनेका व्यक्तिको अनुरोधमा वा प्रलोभनमा परेर सुन लगायतका बहुमुल्य वस्तुहरुको भरिया बनाउने गरेको भन्दै त्यसकै कारणले कतिपय व्यक्तिहरु विभिन्न समस्यामा परेको जनाएको छ ।
दूतावासले नेपाल फर्किंदा आफुले कुनै सुनलागायत बहुमूल्य सामग्री खरिद गरेको भए त्यसको बिल वा आफ्नो स्वामित्व प्रमाणित हुने काजगात साथमा राख्न आग्रह गरेको छ । कानूनले तोकेकोभन्दा बढी बस्तु ल्याएमा ती सामान बस्तु जफत भई कानूनी कारवाही हुने भन्दै दूतावासले सुन लगायतका बहुमूल्य वस्तुहरु नेपालको प्रचलित कानूनले तोकेको परिमाणमात्र लैजान मिल्ने स्पष्ट गरको छ ।
खाडीका मुलुकमा कार्यरत केही नेपालीले विदामा स्वदेश फर्किने कामदारहरुलाई केही रकम दिने प्रलोभनमा पारेर सुनको औंठी वा बाला दिएर विमानस्थलमा सम्पर्कमा आउने व्यक्तिलाई दिन भन्दै तस्करी गर्दै आएका छन् ।
वैदेशिक रोजगारबाट फर्किने कामदारलाई तस्करीमा संलग्न व्यक्तिले सानोतिनो लोभको प्रलोभन देखाएर सुनका गहना बोक्ने भरिया बनाउने गरेको समाचार पटक–पटक सार्वजनिक हुने गरेका छन् । तर शिक्षा र चेतनाका दृष्टिले कमजोर र न्यून आय भएका कामदारहरु सचेत हुन नसक्दा भरिया भई समस्यामा पर्ने गरेका छन् । कतिपय निर्दोष व्यक्तिहरु पनि अनाहकमा जेलसमेत पर्ने गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।