सरकारले र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) किटपछि फेरि ५० करोडको एन्टिजेन किट खरिद गर्ने तयारी गरेको छ । विज्ञहरूले भने एन्टिजेन खरिद गर्नुभन्दा पिसिआर परीक्षणमा जोड दिनुपर्ने बताएका छन् । कोरोना भाइरसको परीक्षणका लागि यसअघि सरकारले आरडिटी किट खरिद गरेको थियो । त्यसले यकिन नतिजा नदिएपछि पिसिआर परीक्षणमै जोड दिएको थियो । तर, फेरि आरडिटीजस्तै द्रुत परीक्षणका लागि एन्टिजेन खरिद गर्न लागेको हो । स्वास्थ्य मन्त्रालयले पुसमा तीन लाख र माघमा दुई लाख एन्टिजेन किट खरिद गर्न लागेको हो । एउटा किटको एक हजार रुपैयाँ पर्छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले तीन लाख एन्टिजेन किट खरिद गर्न लागेको बताए । ‘पिसिआरको रिपोर्ट तत्काल आउँदैन, एन्टिजेनको रिपोर्ट ३० मिनेटभित्र आउँछ,’ प्रवक्ता डा. गौतमले भने, ‘ननकोभिड सेवालाई पनि बलियो बनाउनुपर्छ । त्यसैले हालको अवस्थामा एन्टिजेन किटको प्रयोग आवश्यक छ ।’ पिसिआर र एन्टिजेनको प्रभावकारिता उस्तै भएको उनको भनाइ छ ।
आरडिटी किटले शरीरमा भाइरसको संक्रमण भएपछि उत्पादन हुने एन्टिबडी भए–नभएको निक्र्योल गर्छ भने एन्टिजेन परीक्षणबाट शरीरमा भएको कोरोना भाइरसको प्रोटिनको मात्रा पहिचान गरिन्छ । ‘एन्टिजेन किटका माध्यमबाट परीक्षण गर्दा पजिटिभ रिपोर्ट आए त्यसलाई कोरोना पजिटिभ नै मानिनेछ,’ प्रवक्ता डा. गौतमले भने, ‘परीक्षण गरिएको व्यक्तिमा संक्रमणको कुनै लक्षण छैन, एन्टिजेनमा नेगेटिभ रिपोर्ट आयो भने पिसिआर गर्नुपर्दैन । तर, एन्टिजेन नेगेटिभ आयो र सम्बन्धित व्यक्तिमा लक्षण छ भने पिसिआर परीक्षण गर्नुपर्छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई चरणमा गरेर पाँच लाख एन्टिजेन किट खरिद गरिनेछ । पहिलो चरणमा तीन लाख एन्टिजेन किट खरिद गर्न लागेको डा. गौतमले बताए । २४ पुसभित्र खरिदका लागि टेन्डर आह्वान गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोरोना भाइरसको संक्रमण भए–नभएको पत्ता लगाउनका लागि द्रुुत एन्टिजेन परीक्षण किटलाई २५ भदौमा स्वीकृति दिने निर्णय गरेको थियो ।
विज्ञहरूले भने एन्टिजेन किट खरिद गर्नुभन्दा पिसिआर परीक्षणमै जोड दिनुपर्ने बताएका छन् । भाइरसविज्ञ तथा जनस्वास्थ्य वैज्ञानिक डा। सन्तोष दुलाल एन्टिजेन किट खरिद गर्नु गलत भएको बताउँछन् । ‘एन्टिजेन किटले पजिटिभ व्यक्तिलाई पनि पूर्ण रूपमा पजिटिभ देखाउँदैन, नेगेटिभको त कुरै भएन,’ डा. दुलालले भने, ‘एन्टिजेन किटले कोरोनाको सिटी भ्यालु २५ भन्दा माथि भएको व्यक्तिलाई पजिटिभ देखाउँदैन । भर्खर संक्रमण भएको व्यक्तिलाई मात्रै यसले पजिटिभ देखाउने हो ।’ त्यसैले यो प्रभावकारी नहुने उनको भनाइ छ ।
बरु पिसिआर परीक्षण छिटो दिने व्यवस्था गर्न सकिने उनी बताउँछन् । ६ घन्टाभित्र पिसिआर परीक्षणमार्फत रिपोर्ट दिन सक्ने प्रयोगशाला हुँदाहुँदै अझ छिटो परीक्षण गर्ने बहानामा करोडौँको किट ल्याउन जरुरी नभएको उनको भनाइ छ । ‘एन्टिजेन गरे पनि पुनः सुनिश्चितताका लागि पिसिआर गर्नुपर्ने हुन्छ, त्यसैले ५० करोड रुपैयाँ खर्च गरेर एन्टिजेन खरिद गर्नुभन्दा त्यो रकम पिसिआर परीक्षणमा लगाउनु फाइदा हुन्छ,’ डा. दुलालले भने । एन्टिजेन किटबाट परीक्षण पिसिआरभन्दा महँगो हुने उनको बुझाइ छ ।
अहिले काठमाडौं उपत्यकामा मात्रै ३५ वटाभन्दा बढी कोभिड प्रयोगशाला सञ्चालनमा छन् । सरकारी प्रयोगशालाबाहेक सबैले ६ देखि आठ घन्टामा पिसिआरको रिपोर्ट दिँदै आएका छन् । पिसिआर परीक्षण शुल्क दुई हजार रुपैयाँ तोकिएको छ । ‘निजीमा बिजुली, उपकरण, जनशक्ति सबै खर्च जोड्दा पनि आरटी–पिसिआरको मूल्य १५ सयदेखि दुई हजार रुपैयाँ पर्छ, तर सरकारी प्रयोगशालामा बढीमा आठ सय रुपैयाँमा आरटी–पिसिआर परीक्षण गर्न सकिन्छ,’ डा. दुलाल प्रश्न गर्छन्, ‘यस्तो अवस्थामा किन प्रतिपिस हजार खर्च गरेर एन्टिजेन खरिद गर्नुपर्यो?’
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। गौतमले भने सेवामा सहजताका लागि एन्टिजेन किट प्रयोग गर्न लागेको बताए । ‘अहिले भिडभाड बढेकाले कोरोनाको दोस्रो वेभको जोखिम बढेको छ, त्यसैले परीक्षण बढाउन एन्टिजेन ल्याउन लागिएको हो,’ उनले भने ।
सरकारले एन्टिजेन परीक्षण निःशुल्क गर्ने जनाएको छ । पिसिआर उपलब्ध नभएमा पुनः एन्टिजेन परीक्षण गर्न निर्देशन दिएको छ । एन्टिजेन परीक्षणमा पजिटिभ वा नेगेटिभ जे रिपोर्ट आउँछ, त्यहीअनुसार उपचार प्रक्रिया अगाडि बढाउन पनि मन्त्रालयले मातहतका स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।