टेकबहादुर पुन
पौष२३,दाङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पुर्ब उपप्रधानमन्त्री चित्र बहादुर केसीले प्रधानमन्त्री केपी ओलीले निर्बाचन आयोगको सेटिङ्गमा संसद बिघटन गरेको आरोप लगाएका छन् ।
बुधबार दाङको लमहीमा राष्ट्रिय जनमोर्चा लमही नगर समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष केसीले यस्तो आरोप लगाएका हुन् ।
उनले प्रतिनिधिसभा विघटन गर्ने निर्णय आत्मघाती र जनताप्रतिको विश्वासघात भएको बताउंदै प्रधानमन्त्रीको सिफारिसलाई राष्ट्रपतिले तत्काल सदर गर्नु पनि अप्रजातान्त्रिक र जनताको हितविपरीत कार्य भएको समेत अौल्याए ।
आफ्नै दलभित्रको आन्तरिक किचलो र विवाद मिलाउन नसकी संसद विघटन गर्नु अनुचित र अव्यवहारिक कदम भएको भन्दै केसीले अदालतले संसद पुनर्स्थापना गर्नुपर्ने बताए । केसीले गणतन्त्र, धर्मनिरपेक्ष र राष्ट्रियतामाथि नै खतरा भइरहेका बेला प्रधानमन्त्रीको निर्णयले त्यस्ता शक्तिहरूलाई बाटो खोलिदिएको धारणा पनि राखे ।
केसीले राष्ट्रिय जनमोर्चाले सुरूदेखि नै संघीयताको विरोध गर्दै आएको र अहिले पनि विरोध यथावत रहेको उल्लेख गर्दै संघीयता खारेजी गर्नुको विकल्प नभएको बताए ।
ओलीको असंबैधानिक कार्य प्रती रुष्ट हुँदै नेकपालाई दिईएको समर्थन पनि फिर्ता लिईसकेको बताए । शक्ति र सत्ताको लालचमा जनतालाई पिरोल्न पाँईदैन उनले भने-असंबैधानिक कदमको बिरुद्द सबैले आवाज उठाअौँ ।
संसदिय प्रणाली अन्तरगत बिघटन गर्न पाउने प्रधानमन्त्रीको अधिकार नहुने स्पष्ट पार्दै उनले गणतन्त्र र प्रजातन्त्रको पक्षमा हुने सबै नेपालीले बिघटनको बिरोध गर्नुपर्ने धारणा राखे ।
सत्ता र शक्तिको लागि आपसमा लडाई गर्दा बाह्य शक्तिले फाईदा उठाउने बताउँदै उनले चुनाबको घोषणाले नेपाली जनतालाई थप चिन्तामा पारेको बताए । ‘मुलुकमा खै बिकाश! खै उद्योग कल कारखाना! अध्यक्ष केसीले भने-दुईतिहाई सरकार रोजगार दिनुको साटो चुनाब गर्नमा तल्लिन छ जसले जनतालाई थप ऋणी बनाउँछ ।’
संसद पुनस्थापनाको माग गर्दै उनले सबै नेपाली गणतन्त्र र धर्म निरिपक्षताको सँरक्षक हुनुपर्नेमा जोड दिए । उनले राष्ट्रिय जनमोर्चा राष्ट्र र राष्ट्रियताका लागि सैद्वान्तिक लडिरहेको बताउँदै मुलुक परिबर्तनका लागि जनता नै सक्षम हुनुपर्ने स्पष्ट पारे । चित्रबहादुर केसी २३ गते जनमोर्चाले आयोजना गरेको बिरोध सभालाई संबोधन गर्न दाङ आएका हुन् । पत्रकार भेटघाट कार्यक्रम राष्ट्रिय जनमोर्चा लमही नगर समितिका उपाध्यक्ष तारा खनालको अध्यक्षतामा भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।