सैघाली खबर
काठमाडौं,२५ पुस
पार्टी एकताका विषयमा एमाले र माओवादीले छलफल गर्दैछन् । नेतृत्व, संगठनात्मक संरचना र नीतिगत विषयमा सहमति खोज्न आज एमाले र माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक बस्दैछ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले एकताको खाका, सांगठनिक विषय र अन्य प्राविधिक विषयमा आजको संयोजन समितिमा छलफल हुने जानकारी दिनुभयो ।
बैठकमा वैचारिक विषयमा एकरुपता र सांगठनिक एकताको गृहकार्य गर्न कार्यदल गठन गर्ने कार्यसूची रहेको बताइएको छ । कार्यदलले दिएको प्रतिवेदनका आधारमा एकता प्रक्रिया अघि बढ्ने दुई पार्टीका शीर्ष नेताबीच सहमति भएको छ ।एकता प्रक्रियालाई गति दिने सम्बन्धमा अस्ति आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल भएको थियो ।
त्यही छलफलका आधारमा हिजो दुवै पार्टीले आन्तरिक छलफल गरेका थिए । समितिमा एमालेबाट अध्यक्ष ओली, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव इश्वर पोखरेल रहनुभएको छ भने माओवादीबाट अध्यक्ष दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा हुनुहुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।