चरिकोट । गृहमन्त्री रामबहादुर थापाले विघटन भएको प्रतिनिधिसभा पुनःस्थापना हुने सम्भावना नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी दोलखाले चरिकोटमा आज आयोजना गरेको कार्यकर्ता भेलामा गृहमन्त्री थापाले जनताले अस्थिरता नभई स्थायित्व चाहेको र समाजवाद एवं समृद्धिको पक्षमा जनता रहेको हुँदा सबैले ताजा जनादेश चाहेको उल्लेख गरे ।
आम नागरिकले स्थायी सरकार चाहेको र नतिजामुखी काम गर्ने समयमा सरकार ढाल्नका लागि पार्टीभित्रैबाट चलखेल गर्ने, आरोपपात्र दर्ता गराउने, आफ्नै सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउनेजस्ता गतिविधिले पार्टीमा फुटको स्थिति आएको बताए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले देशमा अस्थिरता खोज्ने तथा देशको विकास र सम्वृद्धि नचाहने तत्वले प्रधानमन्त्री विरुद्ध चालेको कदम गलत भएका कारण यो अवस्थाको सिर्जना भएको बताए ।
उनले पार्टी भित्रैबाट केही समयदेखि सरकारका राम्रा कामको प्रचारभन्दा पनि विरोध गर्ने र सरकारमा सङ्कट उत्पन्न गराउने काम भएको आरोप लगाउँदै त्यसैले ताजा जनादेशमा जान लागेको बताए । सरकार किन यो अवस्थासम्म पुग्यो भन्ने कुरा आम नागरिकलाई स्पष्ट भएको र कसरी सङ्कट उत्पन्न भयो भन्ने बारेमा गम्भीर भएर सोच्न आम कार्यकर्तालाई मन्त्री गुरुङ्ले आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।