बाइडनको सपथग्रहणमा जान्नः ट्रम्प



वासिङ्टन । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी जनवरी २० मा हुने नयाँ राष्ट्रपति जो बाइडनको शपथग्रहण समारोहमा आफू उपस्थित नहुने घोषणा गरेका छन् ।

नयाँ राष्ट्रपतिको शपथग्रहण समारोहमा निवर्तमान राष्ट्रपति उपस्थित भएर औपचारिक बधाइ दिने लोकतान्त्रिक परम्पराविपरीत ट्रम्पले शुक्रबार ट्वीटरमार्फत् उक्त कार्यक्रममा नजाने जानकारी दिएका हुन् । यसलाई ट्रम्पको अर्को अलोकतान्त्रिक आचरणका रूपमा लिइएको छ ।

उपराष्ट्रपति माइक पेन्स भने शपथग्रहण समारोहमा उपस्थित हुन्छन् कि हुन्नन् यकिन छैन । उनले आफू समारोहमा जान इच्छुक रहेको जनाए । ट्रम्पका समर्थकद्वारा बुधबार संसद भवनमा भएको हमलापछि नयाँ राष्ट्रपति बाइडनको शपथग्रहण कडा सुरक्षाबीच हुने अनुमान गरिएको छ ।

उक्त घटनाका कारण ट्वीटर, फेसबुक, स्न्यापच्याट, इन्स्टाग्राम लगायत विभिन्न सामाजिक सञ्जालले ट्रम्पमाथि निषेध लगाएका थिए । करिब बाह्र घन्टापछि ट्वीटरले निषेध हटाएको छ । त्यसलगत्तै ट्रम्पले एउटा भिडिओ सार्वजनिक गरेका थिए, जसमा उनले बुधबार भएको हिंसाको निन्दा गर्नुका साथै शान्तिपूर्ण रूपले सत्ता हस्तान्तरण हुने संकेत गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्