सैघाली खबर,
काठमाडौँ, २५ पुस । राष्ट्रपति विद्या भण्डारीले चिसो र शीतलहरका कारण भएको मानवीय क्षति कम गर्न सबैसँग आग्रह गर्नुभएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै उहाँले सरकार, गैरसरकारी संस्था तथा आमनागरिकलाई शीतलहर र चिसोबाट प्रभावितहरूको जीवन रक्षाका लागि आग्रह गर्नुभएको हो ।
“विगत केही दिनदेखि देशमा चिसो बढिरहेको छ । मुख्यतः तराई क्षेत्रमा लागेको बाक्लो हुस्सु र शीतलहरका कारण केहीको ज्यान गएको छ भने पश्चिम पहाडका केही क्षेत्रमा झाडापखाला र ज्वरोका कारण केहीको मृत्यु भएको छ । तराई क्षेत्रलगायत देशभर वढेको चिसोले आमजनताको दैनिक जीवनयापनमा कठिनाइ परेको छ”, राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विगत वर्षहरूमा झैँ यस वर्ष पनि पुनरावृत्ति भएकाले तिनीहरूको उचित र दिगो व्यवस्थापनका लागि पूर्वतयारी गर्न आवश्यक देखिएको छ । ”
शीतलहर र महामारीले बालबालिका, वृद्धवृद्धा, असहाय, गरिब र निमुखालाई बढी प्रभावित पारेको प्रसङ्ग उल्लेख गर्दै विज्ञप्तिमा यसले ‘सिङ्गो देशलाई दुःखित र स्तब्ध तुल्याएको’ भन्दै उहाँले परिस्थितिको उचित र व्यवस्थित समाधानका लागि नेपाल सरकार र गैरसरकारी संस्था, नागरिक समाज, निजी क्षेत्र र सर्वसाधारणलाई सरकारसँग हातेमालो गरी पीडितको उद्धार एवं राहतको उचित प्रबन्ध मिलाउन आह्वान गर्नुभएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।