ओलीमाथि सुरक्षा चुनौती थपिएको सुरक्षा निकायको विश्लेषण



काठमाडौं । सुरक्षा निकायले संसद विघटन गरि चुनाव घोषणापछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीमाथि सुरक्षा चुनौति बढेको विश्लेषण गरेको छ । सो विश्लेषणका आधारमा गृह मन्त्रालयले सतर्कता र सुरक्षार्थ खटिने अधिकारीहरुको संख्या बढाएको छ ।

राष्ट्रपति सार्वजनिक कार्यक्रममा खासै नजाने भए पनि प्रधानमन्त्री ओलीको गतिविधि धेरै हुने भएकाले खासगरी ओलीलाई लक्षित गरेर विशेष सुरक्षा सतर्कता अपनाइएको स्रोतले बतायो । गृह मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री जाने स्थान र बालुवाटारको सुरक्षामा समेत सामान्य अवस्थामा भन्दा बढी जनशक्ति खटाइएको छ ।

प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट गरी कम्तिमा ९० जना सुरक्षाकर्मी खट्ने गरेका थिए । हाल प्रधानमन्त्रीको सुरक्षामा सेनाबाट मात्रै एक सय ७५, नेपाल प्रहरीबाट ८२, सशस्त्र प्रहरीबाट २८ र राष्ट्रिय अनुसन्धान विभागबाट १० जना खट्ने गरेका छन् ।

सेनाबाट सेनानी तथा प्रहरी र सशस्त्रबाट डीएसपीको कमाण्डमा टोली खटिने गरेको छ । गृह स्रोतका अनुसार प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनसक्ने, कफन बाँधेर प्रदर्शन गर्ने, कार्यक्रमलाई अवरोध पुर्याउने जस्ता गतिविधि हुनसक्ने भएकाले उनी जाने कार्यक्रमस्थलमा पनि विशेष निगरानी राख्न भनिएको छ ।

ओली जाने कार्यक्रममा हुनसक्ने सम्भावित विरोधलाई लक्षित गरेर कालो कपडा, मास्क वा विरोध जनाउन सक्ने हरेक चिजलाई निषेध गर्ने नीति प्रहरीले लिएको छ । विभिन्न कार्यक्रममा कालो मास्क लगाउने व्यक्ति पनि निकालिएका छन् । सरकार विरोधी नारा लगाउने व्यक्तिलाई समेत प्रहरी निगरानीमा राख्न थालेको छ । ओलीको कदमलाई गैरसंवैधानिक भन्दै पार्टीभित्रै र बाहिरबाट आलोचना भइरहेका बेला आगामी दिन ढुंगामुढा समेत गरिन सक्ने विश्लेषण सुरक्षा निकायको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्