१०७ केजी चरेससहित एकजना पक्राउ



२५ पुष,वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट १०७ केजी चरेससहित एकजनालाई पक्राउ गरेको छ । मकवानपुरको थाहा नगरपालिका–११ बस्ने ३४ वर्षीय रविन तामाङ पक्राउ परेका हुन् ।

वीरगञ्ज–२१ स्थित परवानीपुरदेखि ड्राइपोर्ट सडक खण्डमा ना ६ ख ५६४३ नम्बरको कन्टेनरबाट उक्त परिमाणको चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले बुधबार राति चरेससहित तामाङलाई पक्राउ गरेको थियो ।

नेपालबाट भारततर्फ जाँदै गरेको कन्टेनर ट्रकलाई रोकेर चेकजाँच गर्दा कन्टेनरभित्र राखिएको ग्यालिनबाट चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । ‘ग्यालनमा फल्स बटम बनाएर त्यसभित्र चरेस लुकाएर राखिएको रहेछ,’ उनले भने ।

कन्टेनरको मालिक पनि तामाङ नै रहेकोले उनले नियमित रुपमा चरेस लगायत विभिन्न लागूऔषध भारततर्फ ओसारपोसार गरिरहेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । तामाङ विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले नै पर्सा जिल्ला अदालतमा लागूऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्