नुवाकोट। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतले नेकपाको आन्तरिक लुछाचुँडीका कारण संविधान र लोकतन्त्रमाथि प्रहार भएको बताएका छन्। ‘प्रचण्ड र माधव नेपाललाई सत्ता नभई नहुने, ओलीजीले कुनै हालतमा सत्ता नछाड्ने,उनले भने।
कोभिड महामारीका वेलासमेत उहाँहरूको ध्यान जनताको उपचारमा भन्दा कुर्सीको झगडामा बित्यो,’ नेता महतले भने, ‘उहाँहरूको सत्ता र शक्तिको लुछाचुँडीका कारण संविधान र लोकतन्त्रमाथि ‘कु’ भएको छ, यो सर्वोच्च अदालतले सच्याउनुपर्छ।’
नुवाकोट क्षेत्र १ (ख) ले गरेको विरोधसभामा बोल्दै सहमहामन्त्री डा. महतले ओली नेतृत्वको नेकपा सरकार भ्रष्टाचारमा लिप्त बनेको आरोप लगाए।
‘अहिले भ्रष्टाचार यति अकासिएको छ कि लाख करोडको कुरै छैन, अर्बको मात्रै हिसाब किसाब हुन्छ, यतिसम्म कि महामारीका वेला औषधि र उपकरण ल्याउँदासमेत उहाँहरूले कमिसन नखाई काम गर्न सक्नुभएन,’ उनले भने। उनले सर्वोच्चको फैसला कांग्रेसले स्वीकार गर्ने बताए।
‘सर्वोच्चले संसद् पुनस्थार्पना गरेन भने हामी निर्वाचनमा केन्द्रित हुन्छौँ। त्यसपछि हामी समयमा चुनाव गर्नका लागि सरकारलाई दबाब दिन्छौँ। हैन, संसद पुनःस्थापना भयो भने पनि हामी संविधानलाई मान्ने पार्टी, हामी स्वीकार गर्छौ । आगामी दुई वर्ष फेरि हामीले कम्युनिस्ट शासल झेल्नुपर्ने हुन्छ,’ सहमहामन्त्री डा.महतले भने। उनले प्रतिनिधिसभाविनाको राज्य व्यवस्था परिकल्पना नै गर्न नसकिने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।