नेकपा विभाजनपछि मोरङमा प्रधानमन्त्री ओली पक्ष कमजोर, प्रचण्ड-नेपाल पक्षमा बहुमत



विराटनगर। नेकपा विभाजनपछि मोरङमा प्रधानमन्त्री केपी ओली पक्ष कमजोर देखिएको छ। मोरङमा रहेका केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य र जिल्ला कमिटीको सचिवालयसहित जिल्ला कमिटीमा प्रचण्ड-नेपाल पक्षमा बहुमत देखिएका छ। मोरङबाट नेकपाको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने १२ जना रहेकामा ८ जना प्रचण्ड-नेपाल पक्षमा खुलेका छन्।

केन्द्रीय सदस्यमध्ये पार्टीका जिल्ला इन्चार्ज घनेन्द्र बस्नेत, सह-ईञ्चार्जहरु गोपी अछामी, महेश रेग्मी र देउमान सम्बाहाम्फे प्रचण्ड-नेपाल पक्षमा छन्। यस्तै पार्टीका प्रदेश सह-ईञ्चार्ज सावित्रीकुमार काफ्ले, प्रदेश सरकारको सामाजिक विकासमन्त्रीबाट राजीनामा दिएका जीवन घिमिरे तथा पूर्वमन्त्रीहरु शिवकुमार मण्डल र लालबाबु पण्डित पनि सोही पक्षमा छन्।

पार्टीका केन्द्रीय सदस्य तथा पर्यटनमन्त्री भानुभक्त ढकाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाम्फे, पार्टीको विद्यार्थी फाँटका सहइञ्चार्ज विनोद ढकाल र अर्का केन्द्रीय सदस्य गुरु बराल ओली समूहमा देखिएका छन्। पार्टी विभाजनको अवस्थापछि एकलौटी रूपमा ओली समूहले थपेर बनाएको ११९९ जनाको केन्द्रीय समितिमा भने मोरङका थप १६ जना समेटिएका छन्।

नेकपाको प्रदेश कमिटीमा मोरङबाट ४३ जनाको प्रतिनिधित्व रहेकोमा २४ जना प्रचण्ड-नेपाल पक्षमा खुलेका छन् भने ओली समूहमा १६ जना देखिएका छन्। ३ जना तटस्थ रहेको बताइएको छ। प्रदेश कमिटी सदस्यमध्ये प्रचण्ड-नेपाल पक्षमा डिल्ली अधिकारी, चन्द्रबहादुर गुरुङ, इन्द्र सुब्बा, भीम बस्नेत, बलबहादुर घिसिङ, सावित्रा रेग्मी, मृत्युञ्जय झा, यशोदा अधिकारी, मिना यादव र चन्द्रबीर राई छन्। यस्तै जिल्ला सचिव गणेश उप्रेती, भोगेन्द्र यादव, अमनलाल मोदी, गीता तिम्सिना, खेम भट्टराई, उपेन्द्र राय, विनीता घिमिरे, विजयकुमार विश्वास, कुशल लिम्बू, जीवन आचार्य, टंक गिरी, हेम कार्की, लालबहादुर सुस्लिङ र अरुण सुन्दास प्रचण्ड-नेपाल पक्षमा छन्।

प्रदेश कमिटीमा रहेका बालेश्वर कामत, श्याम ताजपुरिया र देवराज भण्डारी कतै नखुलेको बताइएको छ। मोरङबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने १० जना सांसद रहेकोमा ओली समूहमा ५ जना र प्रचण्ड-नेपाल पक्षमा ५ जना देखिएका छन्। प्रदेशसभामा प्रतिनिधित्व गर्ने जिल्लाका १२ जना सांसदमध्ये १० जना संस्थापन (प्रचण्ड-नेपाल) पक्षमा खुल्दा ओली समूहमा प्रदेशसभा सदस्य ज्ञानेश्वर राजवंशी मात्र देखिएका छन्।

विगतमा नेपाल समूहमै रहेपनि भीम आचार्यसँग असन्तुष्ट रहेका राजकुमार ओझाले भने आफू कुनै समूहमा नरहेको बताउँदै आएका छन्। मोरङमा नेकपाको २०६ सदस्यीय जिल्ला कमिटी रहेकोमा जिल्ला सचिव गणेश उप्रेतीसहित १०५ प्रचण्ड-नेपाल पक्षमा देखिएका छन्। ओली समूहमा अहिलेसम्म ८६ जना खुलेको देखिएको छ भने १५ जना कतै खुलेका छैनन्। जिल्लाको सचिवालयका ६९ सदस्यमध्ये ३७ जना प्रचण्ड-नेपाल पक्षमा खुलेकोमा ७ जना कतै नखुल्दा ओली समूहमा सचिवालयका २५ जना मात्र देखिएका छन्।

गृह जिल्ला झापामा चरम अल्पमतमा रहेको ओली समूह मोरङमा बलियो रहेको आंकलन धेरैले गरेका थिए। तर, पछिल्ला बैठकहरूमा भएको उपस्थितिले विद्यमान जिल्ला कमिटीको सचिवालय र समग्र कमिटीमै उक्त समूह स्पष्ट अल्पमतमा पुगेको छ। मोरङका १७ स्थानीय तहमध्ये विराटनगर महानगरपालिकाका अध्यक्ष सागर थापा ओली समूहमा छन् भने सचिव हेम कार्की संस्थापनमा छन्। त्यसबाहेक स्थानीय तहमा दुबैतर्फ ८/८ जना अध्यक्ष बाँडिएका छन्।

जिल्ला कमिटीकै मान्यता पाएको नेकपाको विराटनगर महानगर कमिटी १४६ सदस्यीय रहेकोमा सचिव हेम कार्कीसहित ८९ जना आफूहरूसँग रहेको प्रचण्ड-नेपाल पक्षको दाबी छ। महानगर अध्यक्ष सागर थापाले भने महानगरमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका छन्। जनप्रतिनिधिमा नेकपाले जितेको तीन वटै नगरपालिकाका प्रमुख प्रचण्ड-माधव पक्षमा उभिएका छन्। रंगेली नगरपालिकाका प्रमुख दिलीप अग्रवाल, पथरी शनिश्चरे नगरपालिकाका प्रमुख किशोर राई र बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी संस्थापन पक्षमा देखिएका हुन्।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवी आचार्य र कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले ओली समूहमा खुल्दा ग्रामथान गाउँपालिकाका अध्यक्ष शिवनारायण माझी भने तटस्थ बसेका छन्। आफू अहिले कुनै पनि समूहमा नरहेको माझीले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्