प्रधानमन्त्रीओली हिटलर जस्तै तानाशाह भएको नेता खनालको टिप्पणी



काठमाडौँ । नेकपाको दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा नेकपा दाहाल–नेपाल समूह सम्पर्क समन्वय कमिटीद्वारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गरेका हुन् ।

जर्मनीमा समाजवादी पार्टीबाट हिटलर जन्मिए जस्तै नेपालमा कम्युनिष्ट पार्टीबाट केपी ओली जन्मिएको खनालले बताए । कहिलेकाहीं पार्टीको गल्तिका कारण तानाशाहहरु जन्मिने गरेको र त्यसको विरुद्धमा फेरी संघर्ष गर्दै जानुपरेको उनले बताए । वरिष्ठ नेता खनालले शुक्रबार धनगढीमा केपी ओली समूहले गरेको सभालाई पञ्चभेलाको संज्ञा समेत दिएका छन् ।

विभिन्न ९ जिल्लाबाट बस रिजर्भ गरेर मान्छेहरुलाई पैसा दिएर गराएको भेला २०४६ साल अगाडि पञ्चहरुले गर्ने भेला जस्तै भएको बताए । २०४६ साल अगाडि पञ्चहरुले देशभर भेला गरेको र अहिले पनि ओलीले पञ्चभेला गर्दै हिंडेको बताए । त्यसबेलाका पञ्चहरुको अहिले इतिहास मेटिएर गएजस्तै केही वर्षमै केपी ओलीको पनि अस्तित्व समाप्त हुने बताए ।

कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक प्रतिगामी कदम खारेज गरेर प्रतिनिधि सभा सूचारु गर्न नसके देशमा चुनाव पनि नहुने, संसद् पनि नहुने र देश प्रतिगमन तर्फ जाने बताए । त्यसैले पार्टीहरुबीच संयुक्त संघर्ष गर्नुपर्ने र संयुक्त संघर्ष हुन नसके समन्वय गरेर भएपनि आन्दोलन गर्नुपर्ने बताए ।

इतिहासमा पुर्खाहरुले सुन्दर देश सुम्पिएर गएको तर विभिन्न कालखण्डमा जन्मिने तानाशाहहरुको कारण देशमा समृद्धि आउन नसक्दा तिनै पुर्खा, सहिद र आम नागरिकलाई जवाफ दिने ठाउँ नरहेको पनि बताए । लोकतन्त्रको निम्ति लडनेहरु भित्रैबाट लोकतन्त्रका लुटेराहरु जन्मने, लोकतन्त्रलाई अपहरण गर्ने र फेरीपनि प्रतिगमन हुने स्थितिको अन्त्य हुनै पर्ने नेता श्रेष्ठले बताए । प्रतिगमनको खतराबाट देशलाई बचाउन सबैभन्दा पहिला राजनीतिलाई सफा गर्नुपर्ने पनि बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्