ओलीलाई व्यंग्य गर्दै धनगढीमानेकपा प्रचण्ड–नेपाल समूहको बयलगाडा जुलुस



२६ पुस, कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन गरिएको बिरोधमा धनगढीमा बयलगाडासहित जुलुस निकालिएको छ ।

ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरेको र देशमा अस्थिरता निम्ताएको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहको अनेरास्ववियू जिल्ला कमिटी कैलालीले प्रदर्शन गरेको हो । धनगढीको क्याम्पस चोकदेखि पार्क मोडसम्म बयलगाडा जुलुस निकालिएको थियो । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

विगतमा ओलीले ‘गणतन्त्र ल्याउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेर दिएको अभिव्यक्तिलाई व्यंग्य गर्दै अनेरास्ववियूले आज देशभर बयलगाडासहित प्रदर्शन गरेको हो ।

काठमाडौंको थापाथलीमा बयलगाडाको सांकेतिक प्रदर्शन गरिए पनि कैलालीसहित तराई मधेसका जिल्लाहरुमा भने गोरु र राँगाले तानेको वास्तविक बयलगाडा नै सडकमा निकालिएको थियो । त्यसमा ‘जाउँ है अमेरिका’ लेखिएको थियो ।

धनगढीको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भएको बताए ।

प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै उक्त कदम सच्याउन प्रचण्ड–नेपाल समूहको अनेरास्ववियूको माग छ । तत्काल संसद् पुनर्स्थापित नभए कडा आन्दोलनमा उत्रिने अनेरास्ववियूले चेतावनी दिएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्