‘कांग्रेस बाघ हो, कसैले लोकतन्त्रमाथि हमला गर्‍यो भने कांग्रेस अचुक प्रहार गर्न पनि जानेको छ’: निधि



जनकपुर। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान परिस्थितिमा संवैधानिक सबै विकल्पका लागि कांग्रेस तयार रहेको बताएका छन्। जनकपुरमा आइतबार आयोजित एक कार्यक्रममा निधिले कांग्रेस संसद पुनस्थापना तथा निर्वाचन यी दुबै विकल्पका लागि तयार रहेको बताएका हुन्।

उनले भने, ‘ नेपाली कांग्रेस दोधारमा छ भनेर आरोप लाग्ने गरेको छ तर हामी अलमलमा छैनौं। दुबै विकल्पका लागि तयार छौं।’ निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान बाहिर गएर प्रतिनिधिसभा विघटन गरेको बताए। उनले यो समस्या समाधानका लागि सबै नेपाली जनता एक हुनु आवश्यक रहेको बताए। उनले प्रतिनिधिसभा पुनस्थापना हुने नहुने कुरा सर्वोच्च अदालतले निर्णय गर्ने भएकाले नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलाई चुनावको तयारीमा समेत लाग्न निर्देशन दिए।

नेपाली कांग्रेस चुनावबाट डराइरहेको लगायतका आरोपहरुतर्फ इंगित गर्दै उनले भने, ‘कुनै पनि लोकतान्त्रिक शक्ति निर्वाचनबाट डराउनै सक्दैन, नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी रहेकोले जनता माझ जान सदैव तत्पर रहेको छ। बरु कम्युनिस्टहरु लोकतन्त्रलाई रुचाउँदैनन्, कम्युनिस्ट र लोकतन्त्र कहिल्यै सँगसँगै हिड्न सक्दैन, जसको प्रत्यक्ष उदाहरण हो प्रधानमन्त्री ओलीको पछिल्ला कदम।’

निधिले तरल राजनीतिक अवस्थाको लाभ उठाउँदै राजावादीहरु सक्रिय हुन लागेको आरोप लगाए। प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदमविरुद्ध कांग्रेस चरणबद्ध आन्दोलनमा उत्रेको उल्लेख गर्दै उनले कांग्रेसलाई बाघको संज्ञा दिए। उनले भने, ‘कांग्रेस बाघ हो। जो अहिले सुस्ताइरहेको छ तर कसैले लोकतन्त्रमाथि हमला गर्‍यो भने कांग्रेस अचुक प्रहार गर्न पनि जानेको छ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्