साढे २ करोड भ्रष्टाचार अभियोगमा नापी कार्यालयका हाकिम सहित २२ जना विरुद्ध मुद्धा



ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई करोड दुई लाख ३३ हजार ६७१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा जिल्ला नापी कार्यालय ललितपुरका कार्यालय प्रमुख बुद्धिमान जैसीसहित २२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

साबिकको हरिसिद्धि गाविस-१ हाल ललितपुर महानगरपालिका-२ को सिलौटोमा पर्ने कर्मनाशा सार्वजनिक खोला एवम् सो खोलाको आसपासको सरकारी जमीन युरो हाउजिङ डेभलपर्स कम्पनीले मालपोत तथा नापी कार्यालयका कर्मचारीको मिलेमतोमा तोडमोड गरेको पाइएको आयोगको अनुसन्धानबाट खुलेको छ ।

नक्साको तोडमोड गरी सार्वजनिक जग्गासमेत प्लटिङ गरी कूल आठ रोपनी १२ आना तीन पैसा दुई दाम सरकारी जग्गा हिनामिना गरेको पाइएको आयोगले स्पष्ट पारेको छ ।

सरकारी एवम् सार्वजनिक सम्पत्ति हानी नोक्सानी हुने र व्यक्ति विशेषलाई गैरकानूनी लाभ एवम् प्रत्यक्ष फाइदा पुर्याउने कार्यमा नापी कार्यालयका नापी अधिकृत बालेश्वर यादव, सर्भेक्षक केशव थापा मगरको प्रत्यक्ष संलग्नता देखिएको आयोगले जनाएको छ ।

आयोगले उनीहरुसहित मालपोत कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख बाबुराम खनाल, नासु ख्यामनारायण पौडेल र दिनेश न्यौपाने र खरिदार आत्माराम लुइँटेल, युरो हाउजिङका सञ्चालकहरु गुणिकाजी मानन्धर, योगेश्वरकृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टङ्कबहादुर श्रेष्ठ, गोपालदास मानन्धर, बबिन मानन्धर र उज्ज्वल मानन्धर दोषी ठहर गरेको छ ।

यस्तै काठमाडौँ अस्पतालका सञ्चालक डा. ईश्वरलाल आचार्य, डा. दुर्गामान जोशी र श्रीमती दुर्गेश नन्दिनी भट्टचनविरुद्ध जनही दुई करोड दुई लाख ३३ हजार ६७१ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपीहरुलाई बिगोअनुसार हदैसम्मको कारबाहीको माग गरिएको छ । आयोगले अनुसन्धान गरेका अन्य ३३ जनालाई भने सफाइ दिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्