पृथ्वीनारायणको सम्झनामा सार्वजनिक विदा



गोरखा । दुई सय ९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाका पाँच वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । आधुनिक नेपाल एकीकरणका नायक तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मथलो समेत रहेको जिल्लाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, सिरानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रमणि न्यौपाने, भीमसेन थापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापा, अजिरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र ज्ञवाली र पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत तेजराज शर्माले सूचना प्रकाशन गरी सार्वजनिक बिदाको जानकारी गराएका छन् ।

पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा एक दिन सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ । सार्वजनिक बिदाका दिन ती पालिकाभित्रका सबै सरकारी कार्यालय, विद्यालयलगायत सार्वजनिक सङ्घसंस्था बन्द रहने जनाइएको छ ।

गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यवतीका जेठा छोराका रूपमा विसं १७७१ पुस २७ गते जन्मेका पृथ्वीनारायण शाहले टुक्रिएर रहेका बाइसी चौबिसी राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेको इतिहासमा उल्लेख छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्