भुटानी शरणार्थी शिविरमा आगलागी, जलेर एकको मृत्यु



पुष२८,झापा।झापास्थित भुटानी शरणार्थी शिविरमा भएको आगलागीमा परी एक शरणार्थीको मृत्यु भएको छ । दमक नगरपालिका–३ मा रहेको शरणार्थी शिविर सेक्टर नम्बर डी–४ छाप्रा नम्बर ३२५ भएको आगलागीमा ६० वर्षीय देशमान राईको मृत्यु भएको हो ।

सोमबार साँझ साढे सात बजे एक तले छाप्रामा अचानक आगलागी हुँदा प्याराइसिसको बिरामी भइ घरभित्रै सुतिरहेका राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

आगलागीबाट छाप्राभित्र रहेको १ तोला सुन, १० तोला चाँदी, ३ लाख नगद, खाद्यान्न, लत्ताकपडालगायत गरी करिब आठ लाख बराबरीको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरपालिकाको दमकलको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिइएको थियो । मृतकको शवको सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि दमक पठाइएको र आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको थापाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्