Banner Third

नरिवल फुटाएर फ्याक्ट्रीबाट भारतका विभिन्न सहरमा लगियो कोरोना भ्याक्सिन

By Saru Sunar

January 12, 2021

भारतले जनवरी १६ देखि आफ्नै देशमा उत्पादन भएको कोरोनाभाइरसको भ्याक्सिन नागरिकहरूलाई लगाउने भएको छ।

बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र अष्ट्राजेन्काले विकास गरेको कोरोनाभाइरसको भ्याक्सिनलाई भारतको सेरम इन्स्टिच्युट पुणेको कारखानामा उत्पादन भइरहेको छ। भारतमा उक्त भ्याक्सिनलाई कोभिसिल्ड नाम दिइएको छ।

मंगलबार बिहानै तापक्रम नियन्त्रण गरिएका तीन वटा ट्रक सेरमको फ्याक्ट्रीमा पुगेका थिए। ती ट्रकका अगाडि फूलमालाले सजाइएको थियो।

ट्रकमा ४७८ बक्सा भ्याक्सिन लोड गरिएको थियो। एउटा बक्साको तौल ३२ केजी हुने समाचार संस्था पिटिआईले जनाएको छ।

पुणेको फ्याक्ट्रीबाट विमानस्थल जानुअघि ट्रकमा नरिवल फुटाएर पूजाआजा गरिएको थियो।

पुणे विमानस्थलबाट जहाजमा राखेर भ्याक्सिन राजधानी दिल्लीसहित अरू १२ सहरमा पुर्‍याइएको छ।

आज मात्रै विभिन्न एयरलाइन्सका जहाजले झन्डै ५७ लाख डोज भ्याक्सिन ओसार्ने बताइएको छ।

भारतले आउने ८ महिनामा ३० करोड मानिसलाई कोरोना भ्याक्सिन लगाउन सकिने बताएको छ।

पहिलो ३ करोड भ्याक्सिन अंग्रपक्तिमा खटिएका स्वास्थ्यकर्मी र अरूलाई दिइने छ। त्यसपछि ५० वर्ष कटेका २ करोड ७० लाख मानिसलाई भ्याक्सिन लगाइने छ।

भारत सरकारले सेरमसँग प्रतिडोज २०० सय भारूका दरले १ करोड १० लाख डोज भ्याक्सिन अर्डर गरिसकेको छ। अप्रिलसम्म ५ करोड ६० लाख डोज किन्ने उसको योजना छ।