प्रधानमन्त्रीले स्वागत गरेका भारतिय संचारकर्मी, जसले सगरमाथामा भारतको दाबी गरे



पुस २९,काठमाडौं।गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्वातार्ताका लागि भारतीय न्यूज च्यानल जी न्यूजको टोलीलाई बालुवाटारमा न्यानो स्वागत गरेका थिए । तर त्यहि जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने भन्दै सगरमाथालाई भारतीय नाम दिने अभियान नै थालेको छ ।जी न्यूजको टोलीले सगरमाथा दाबी प्रस्तुत गर्न सगरमाथा क्षेत्रमै पुगेको छ । सगरमाथा क्षेत्रको कालापत्थरमा उभिएर, सगरमाथालाई पृष्ठभूमिमा राखेर जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीले भने, ‘आज यो ठाउँबाट तपाईंहरूलाई म केही बताउन चाहन्छु । म भन्न चाहन्छु कि माउन्ट एभरेस्टमाथि भारतको पनि दाबी हुनुपर्छ ।’

उनले भारतसँग सगरमाथाको साइने भएको पनि दाबी गरे । यसबारे उनले सन् १८५२ को घटनाको जानकारी दिएका छन् । उनी भन्छन्, ‘आज म यहाँ उभिएर भन्न चाहन्छु कि भारतसँग माउन्ट एभरेस्टको के साइनो छ ? वर्ष १८५२ मा राधानाथ सिकदरले पहिलोपटक माउन्ट एभरेस्टको उचाइ मापन गरेका थिए । सर्भे अफ इन्डियाले उनलाई यो जिम्मेवारी दिएको थियो । उनलाई आदेश थियो– तपाईं जानुहोस् र माउन्ट एभरेस्टको उचाइ नापेर आउनुहोस् । ’उनी थप्छन्, ‘राधानाथ सिकदर बंगालका प्रख्यात गणितज्ञ थिए । उनले माउन्ट एभरेस्टको उचाइ नापे । माउन्ट एभरेस्टको उचाइ नाप्ने उनी नै पहिलो व्यक्ति थिए । भारतमा त्यसवेला अंग्रेजको शासन थियो, त्यसैले उनीहरूले आफ्नो हिसाबले नाम राखिदिए । एन्ड्रयु वा जो जर्ज एभरेस्टका उत्तराधिकारीको रूपमा सर्भे अफ इन्डियाको प्रमुख थिए । उनले यो शिखरको नाम माउन्ट एभरेस्ट राखिदिए ।

हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राखिएको हुनुपर्दथ्यो । आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ, पूरै दुनियाँका सामुन्ने । ’

उनले पछि स्टुडियोमा पुनः फर्किएर आफूले उक्त यात्रा जीवनभर भुल्न नसक्ने बताउँदै आफ्नो यो यात्राले माउन्ट एभरेष्टको सही अर्थ र महत्व बुझाउने कुरामा आफू आशावादी भएको बताएका छन् । उनले यसबारेमा छ महिनाअघि पनि रिपोर्ट बनाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्