निर्वाचन प्रकृया अघि बढाउन डाकिएको बैठक बहिष्कार



महोत्तरी । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि अर्को प्रतिनिधि सभाको निर्वाचनको तयारीका लागि जिल्ला निर्वाचन कार्यालय महोत्तरीले बोलाएको बैठक आन्दोलनरत पक्षले बहिष्कार गरेको छ ।

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा जिल्ला निर्वाचन कार्यालय महोत्तरीले निर्वाचन तयारी बारे डाकेको बैठक नेकपा प्रचण्ड९माधव समूह र जनता समाजवादी पार्टीले बैठक बहिष्कार गरेको हो ।

संसद पुनःस्थापन वा विघटन बारे स्पष्ट फैसला नआएसम्म निर्वाचनको कुनै पनि प्रक्रिया अघि नबढाउन भन्दै बैठक बहिष्कार गरिएको नेकपा महोत्तरीका इञ्चार्ज राजु खड्काले बताए । उनले भने, निर्वाचनका लागि बैठक बोलाउनु नै असंवैधानिक प्रक्रिया हो, सर्वोच्च अदालतको फैसलालाई प्रभावित बनाउन निर्वाचनको कुनै पनि प्रक्रिया अघि नबढाइयोस् ।

यदि निर्वाचन प्रक्रिया अघि बढाइरहँदा जिल्ला निर्वाचन कार्यालय महोत्तरीलाई निर्वाचन सम्बन्धि कार्य नरोकेमा तालाबन्दी गर्ने जसपा र नेकपाले चेतावनी समेत दिए ।

मतदान केन्द्रको पुनरालोकनका लागि जिल्ला निर्वाचन कार्यालय महोत्तरीले राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरुलाई बैठकमा सहभागी हुनका लागि बोलाइएको जानकारी बर्दिबास नगरपालिकाका नगर प्रमुख बिदुरकुमार कार्कीले जानकारी दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्