Banner Third

माघे संक्रातीको दिन सयौं यात्रु एयरपोर्टमा अलपत्र बोर्डिङपास भयो, उडान भएन

By Saru Sunar

January 14, 2021

माघ १ ,काठमाडौँ  ।    बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्। अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने तराईका विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत गन्तव्यको उडान तीन दिनदेखि प्रभावित हुँदै आएको छ ।

बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ।

प्रतिकूल मौसमका कारण तराईका अधिकांश गन्तव्यको उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए। उनका अनुसार सोमबार र मंगलबार तराई तथा पहाडी क्षेत्रका आधाजसो उडान रद्द भएका थिए।

बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्यलगायत कम्पनीको उडान रद्द भएपछि यात्रुले निकै सास्ती बेहोर्नुपरेको छ। उडान नभएपछि गन्तव्य हिँडेका यात्रु हिजो दिनभरजसो विमानस्थलमा अलपत्र परेका छन्। आज पनि मौसम खराबीका कारण तराईका अधिकांश स्थानमा उडान हुनसकेको छैन। मंगलबार तराईका अधिकांश गन्तव्यको उडान रद्द भएका थिए। बुद्ध एयरको मंगलबार २८ उडान रद्द भएको थियो। बुद्धको विराटनगरमा सात, सिमरा र भैरहवामा समान पाँच उडान भएन।

बुद्धले आज पनि १०० भन्दा बढी उडान राखे पनि अहिलेसम्म मौसमको खराबीले एउटा पनि उडान नभएको बताए।