बिबिधतामा एकता माघेसंक्रती



माघ १, काठमाडौँ । लोकनारायण सुबेदी
  हामी मकर संक्रान्ति,माघे संक्रन्ति या माघी जे भनौ स्थान, अभ्यास या परम्परा अनुसार, त्यसको नजिक छौ  । यस संक्रान्तिलाई बिबिध किसिमले मनाउने चलन छ । तर यसमा सन्निहीत भावना भने एउटै छ । जुन दिन सूर्य उत्तरायण हुन्छ त्यस दिनलाई मकर संक्रान्तिका रुपमा मनाउने गरिन्छ । सक्रान्ति शब्दको अर्थ हुन्छ — मिलन, एक बिन्दूबाट अर्को बिन्दूसम्मको मार्ग, सूर्य या कुनै ग्रहको एक राशीबाट अर्को राशीमा प्रवेश गर्ने,दुइ युग या बिचारधाराहरुको संघर्षबाट परिवर्तित हुदै गएको बातावरणबाट उत्पन्न अबस्था । 

वास्तवमा संक्रान्ति हुनु नै जीवन हो । परिबर्तन र सन्धि – यसका दुइ महत्वपूर्ण पक्ष रहेका छन्, जसलाई राम्रोसँग बुझ्नु आवश्यक छ ।  जस्तो कि धनु र मकर राशी, फल र पूmल । जस्तो बचपन र यौवन । जस्तो परम्परा र आधुनिकता । जस्तो शब्द र वाक्य । एक अर्कासँग जोडिनु, बद्लिनु र बिस्तार र बिनिमय हुनु । खिचडीको पनि यही भाव छ ।

खिचडी अर्थात् मिश्रण । बिश्वका सारा समाज र सँस्कृतिहरुको मूलाधार यही मिश्रण नै हो । मकर संक्रन्तिलाई सूर्यको गतिबाट निर्धारित गर्ने गरिन्छ । बाल बच्चाहरुको बिष्मय भावनामा तथा सिर्जनशील कलकारहरुको सिर्जनमा हरेक दिनको सूर्योदय आफ्नो प्रकारको पहिलो सूर्योदय नै हुने गर्दछ । सूर्यसँग जोडिएका परम्पराहरु सम्पूर्ण बिश्वमा हरेक ठाउमा रहेका छन् ।

पूर्वीय गोलाद्र्धमा त्यसमा पनि खाशगरी दक्षिण एशियाली क्षेत्रमा यसको परम्परा जत्तिको ब्यबस्थित र बैज्ञानिक लाग्दछ शायद यस्तो अन्यत्र पाइदैन कि ! संगममा त्रिबेणी घाटहरु या तीन नदीहरुको एकत्रीकरण जस्तो नेपालका बिभिन्न त्रिबेणी घाटहरु छन्, अझ हामीकहा त सात नदीहरुको संगम भएका सप्तकोशी र सप्तगण्डकी पनि छन् ।

अनि भारतका गंगा, यमुना र सरस्वतीको संगम जस्तो दुर्लभ प्राकृतिक संयोग अन्यत्र कतै छैन । यस्तोमा  त्यसै  सूर्य बिशिष्ट बनेको होइन । यसमा लोकको स्पर्श र परम्पराको संरचना पनि सम्मिलित छ । यस्तो परम्पराको संरचना कतिपय निर्धारित मूल्य,बिश्वास, ब्यवस्था र सामाजिक प्रकृयाहरुबाट बन्दछन् र ती मूल्य, बिश्वास र प्रकृयाहरुको परम्पराको आधार हुन्छ । हाम्रा कतिपय यस्ता परम्पराका अनेक रुपहरु छन् जुन संरचनारहीत मात्र होइन, त्यसका बिरोधी पनि हुने गर्दछन् । 

मकर संक्रान्ति अर्थात माघे संक्रान्तिमा सामुहीक स्नानले बर्ण, जाति, स्थान र भाषाका धेरैजसो सीमाहरु तोडिदिन्छ । यो यसको पारम्परिक र समकालीन दुबै रुप हो । दक्षिणायनलाई देबताहरुको रात्री अर्थात् नकारात्मकता र उत्तरायणलाई देबताहरुको दिन अर्थात सकारात्मकताको प्रतीकका रुपमा मान्ने गरिन्छ ।

यो सकारात्मकता एक अर्कासँग मिल्ने, संगमित हुने, दान गर्ने र सहश्र शीर्षानुभवबाट आउने कुरा हो । दान महत्वपूर्ण कुरा छ । किनकि जुन सँस्कृतिमा दिने या प्रदान गर्ने कुरालाई महत्वपूर्ण बनाइन्छ त्यहाँ समता भावको सम्भावना हुन्छ । प्रसिद्ध बिचारक डायनले भनेका थिए कि ममा अनेक ब्यक्तिहरु छन् । यसलाई अझ अगाडि बढाएर बुझ्न सकिन्छ कि संक्रान्तिमा अनेकौंको समाहार हुन्छ । मकर संक्रान्तिका दिनमा कतिपय ठाउँमा तील, सख्खर खाउ र मीठो बोलीबचन गर भन्ने चलन पनि छ । यसले हाम्रो मनुष्यताको सार पनि हो । अनि यो मकर संक्रान्ति कृषि सँस्कृतिकोरुपमा पनि सराबरी भएर मिलेको छ र यसलाई धान्य उत्कर्षको प्रतीकका रुपमा पनि लिइन्छ । सूर्यलाई जुन नैबेद्य चढाउने गरिन्छ त्यो कृषि उपज नै हुने गर्दछ ।

यस दिन कतिपय ठाउँमा खीरलाई प्रसादकारुपमा ग्रहण गर्ने चलन पनि छ । खिच्रो, खीर लड्डु, तरुल, सखरखण्ड सबैको मिलनको भाव र एउटा रहस्यजस्तै लाग्ने अनुभूतिमा केही समानान्तर लाग्ने कुरा पनि यसमा छिपेको देखिन्छ । अर्थात् पृथ्बीबाट उत्पन्न ‘अन्नमय भावना’ यसमा रहेको हुन्छ । 

    यसै दिनले बताउँदछ कि दक्षिणायनबाट उत्तरायणतिर लाग्नु नकारात्मकताबाट सकारात्मकतातिर, अन्धकारबाट उज्यालोतिर जानु हो । सूर्य अर्थात् तेजको ज्ञान । बास्तवमा यो तेज बाहिर र भित्र दुबैमा उत्रिन्छ । समाजशास्त्रीयरुपमा कृषि आधारित उत्पादन जब जब निरर्थक हुन थाल्दछन् र गाउँबाट शहरमा आएका मजदुरहरुको अनियन्त्रित भीडलाई आर्थिक कृयाकलाहरमा लाग्ने कुनै ठाउँ मिल्दैन त्यो बेला स्थिति काबु बाहिर हुन पुग्दछ ।

त्यसले सामाजिक तथा राजनीतिक क्रान्ति या संक्रान्ति स्पष्ट भइरहेको हुन्छ कि सत्ता सम्प्रभूता प्राप्त भनिने  राज्य–ब्यबस्था एकको हातबाट गुमिरहेको हुन्छ र अर्को  समूह, उप समूहमा पुग्न थालेको हुन्छ । अन्धकार र प्रकाश बीचको एउटा नयाँ समकालको रचना गरिदै गरेको कुराको पनि यो एउटा प्रतीक हो ।बास्तवमा परिबर्तन शाश्वत कुरा हो, अनि त्यसलाई सकारात्मक तुल्याउनु मानिसको सिर्जनात्मकता हो । 

संक्रान्तिबाट प्रकाश बढी र अन्धकार कम हुन्छ भन्ने भाव यसै मांगल्यको प्रतीक पनि हो । त्यसमा समन्वय अर्थात खिचडी, संगम, मिष्ठान्न भाव,स्नानको सहर्ष शीर्ष अनुभव लोकमनको संपृक्ति सबै एकसाथ एकत्र रहेका हुन्छन् र छन् । जेम्स जाँको शब्दमा ‘बिश्व एक मेशिन (यन्त्र)को अपेक्षा बिचार अधिक हो’ । यो उन्नत र सकारात्मक बिचार एउटा उज्यालो हो,जसले हामीलाई सिर्जनाधर्मी बनाउने गर्दछ । यही नै परिर्बतनको धेय या हेतु पनि हो ।

यसैले हामी मानिसलाई संक्रान्त तुल्याइरहन्छ र यसैले हामीलाई लालित्यपूर्ण या ललित बनाइरहन्छ । त्यसो भएकाले गहिरोसँग बुझ्दा मकर संक्रान्ति केवल स्नान गर्ने, शुद्ध शान्त हुने, घिउ, चाकु, मिष्ठान्न, पक्वान्न खाने पर्व मात्र होइन यसमा अन्तरनिहीत भाव धारालाई बुझ्दा रचनात्मक क्रान्तिकारी बन्ने र नकारात्मकतालाई बदलेर समाजलाई शतत सकारात्मकतातिर लैजाने सूचक र प्रतीक पर्व पनि हो भन्न सकिन्छ । सूर्यको उत्तरायण गत्यात्मकताले पनि यही जनाउँदछ । मकर संक्रान्तिको सार हो — नकारात्मक बिकृतिका बिरुद्ध सकारात्मक दिशातिर गतिमान होऔं !

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्